काठमाडौं । गत असार १० गते नेपाल पर्वतारोहण संघले राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने ‘तपाईंहरूले आशीर्वाद दिने हो भने अर्को पटक मैले देशको नेतृत्व गर्ने मौका पाए, देशमा देखा परेका तमाम विसङ्गतिमाथि प्रहार गर्दै देशलाई अगाडि लैजानुपर्छ भन्ने मेरो मनभित्र छ । किनकि मेरो नेतृत्वमा परिवर्तन ल्याउन धेरैको बलिदान भएको छ ।
पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलीमै बितेको बताउँदै प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुँदा निक्कै सुधारका काम गरेको दाबी गरे । र अब तेस्रो पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरे ।
गत शनिवार माओवादी केन्द्रको प्रदेश समन्वय समितिको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले अन्तिम पटक सरकारको नेतृत्व गर्ने इच्छा दोहोर्याए । ‘हामी दोस्रो हुने गरी तालमेल भएमा देशको बागडोर हाम्रै हातमा आउँछ ।
हामीले एक चोटि देशलाई यसरी विकास यसरी सुशासन यसरी समृद्धि भनेर देखाउनु छ,’ प्रचण्डले भनेका थिए, ‘मलाई नै भन्नुहुन्छ भने मेरो लास्ट इनिङ्स होस् । यो लास्ट इनिङ्स पछिसम्मको सन्ततीलाई सम्झिने गरी देशलाई केही चिज दिने सपना राखी राखेको छु ।
यसका लागि वातावरण बनाउन अपिल गर्दछु ।’ आगामी मङ्सिरमा हुने प्रदेश र संघीय चुनावपछि प्रचण्डले प्रधानमन्त्री हुने इच्छा औपचारिक तथा अनौपचारिक कार्यक्रममा व्यक्त गर्न थालेका छन् । यद्यपि सरकारले निर्वाचनको समिति भने घोषणा गरेको छैन ।
प्रतिक्रिया