+
Search

ताजा अपडेट +

पपुलर +

भू-स्वर्गको रुपमा चिनिने बुढिनन्दा मन्दिरको वास्तविक इतिहास

अरुणा ढकाल
२०७९ श्रावण १८, बुधबार

पवनराज उपाध्याय । बाजुरा जिल्लाको सदरमुकाम देखि करिव ३ दिनको पैदल यात्रामा पुगिने धार्मिक तथा पर्यटकिय सम्भावना बोकेको क्षेत्र हो, बुढिनन्दा भगवती मन्दिर क्षेत्र । यस क्षेत्रमा तिलिचो ताल पछिको दोस्रो अग्लो स्थानमा रहेको ताल पनि यसै क्षेत्रमा पर्दछ । यो क्षेत्र हेर्दा निकै रमणीय छ ।

जताततै हरिया फाँटहरु, सन्दर टृश्य देखिने भएकाले यो क्षेत्रमा बसौँ बसौँ जस्तो मन सबैको हुने गर्दछ । यो क्षेत्र धार्मिक पर्यटनका हिसाबले निकै महत्वपूर्ण पनि छ । इतिहास हेर्ने हो भने देवीको उत्पत्तिको विषयमा ठ्याक्कै यति वर्ष भयो भनेर यकिन गर्न नसकिए पनि देवीको उत्पती अध्यनको क्रममा धेरै रहस्यहरु फेला परेकाछन।

पहिलो प्रसङ्ग अनुसार

धेरै बर्ष पहिलेको कुरा हो, दक्षप्रजापतिले यज्ञ गर्ने बिचार गर्नुभयो । उक्त यज्ञमा शिवजी र सतिदेवीलाई बाहेक अरु सबैलाइ निमन्त्रणा पठाए । उक्त यज्ञमा आफुलार्इ र आफ्नो पतिलाइ निम्तो नदिएको खबर थाहाँ पाएपछी राताराता आँखा मार्दै रिसले चुर्ण भएर सतिदेवी यज्ञमा उपस्थित भहिन्। आफ्नो पिताले हामीलाइ नबोलाउनुको कारण सोधिन् । तिम्रो पति बौलाहा हो, मसानघाटमा बस्ने, देहमा खरानी खस्ने, नागको माला लगाउने, जस्तो पाईयो । त्यस्तै नाच्ने कुनै ढ्ङ्ग नभएको तिम्रो पति भएकोले हामीले नबोलाएको हो ।

यदि तिमिलाई मात्र खबर गरेपनि त्यो पछि लागेर आइहाल्छ । त्यही भएर हामीले तिमीलाई निम्तो नदिएको हो । छोरी दुख नमान भनेर दक्षप्रजापतिले सम्झाएँ । त्यसरी तुच्छ बचनले आफ्नो पतिलाइ निन्द्रा गरेको सहन नसकी रातारात आँखा मारी दाह्रा निकाली, पाखुरा निमोठी, रिसले चुर्ण भए ।

हरे शिव भन्दै यज्ञ कुण्डमा हाम फाली प्राण त्यागिन् । केही समय पछि त्यो खबर कैलाश पर्वतमा शिवजीले ध्यान दृष्टिले बिचार गरि थाहा पाउनु भयो । तुरुन्त हावाको वेग भन्दा पनि तिब्र गतिमा त्यहाँ दक्षको यज्ञमा गएर बिलाप गर्न थाल्नुभयो । सतिदेवी मातालाई बोकेर पृथ्वी भ्रमणमा लाग्नुभयो ।

धेरै बर्षको परिक्रमा पछि सतिदेको अंगहरु पतनहुदै गए, जहाँ जहाँ सतिदेवीका अङ्गहरु पतन भए त्यहाँ शक्तिपिठहरु उत्पन्न हुँदै गए । पृथ्वीमा गहिरा खाल्डोहरु बन्दै गए । त्यस्तै बाजुराको बुढिनन्दा धाममा सतिदेवी माताको बुढी औँला पतन भएपछी बुढिनन्दा देबि आएर राज गर्नुभयो र शिव शक्ति स्वरुपले रहनुभएको कुरालाई स्कन्ध पुराणमा स्पष्ट रुपमा उल्लेख गरिएको पाइन्छ ।

दोस्रो प्रसङग अनुसार,

एक दिनको कुरा हो, बाजुरा जिल्लाको नुरी भन्ने गाउँका दाने र पलाने बम दुई दाजुभाइ सिकार खेल्न पाटनमा गएका रहेछ्न । चार पाँच दिनको तयारीका साथ सबै सामाग्री तयारी गरि पाटन तिर प्रस्थान गर्दै थिए। दाजुभाईको सोच सिकार गर्ने थियो । सिकारको लागि पाटनको सबै ठाउँमा परिक्रमा गरे तर, जति प्रयास गर्दा पनि कुनै सिकार भेट्टाउन नसकेपछी ति दाजुभाई निरास भए । त्यो रात उनिहरुले आफू सङग भएको जे छ त्यहि खानेकुरा खाएर भोक मेटाए । त्यस्तै गरेर लगातार ४ दिन बित्यो तर कुनै सिकार भेट्टाउन नसकेपछि अब घर फर्किनु पर्यो भनेर बिचार गर्दै थिए ।

त्यही समयमा एउटा सुनौलो सिङ भएको मृग देखियो । ती दाजुभाइ खुशी भए । उक्त मृगको सिकारकालागी पछि पछि गए । धेरै पटक बन्दुक चलाए तर जति बन्दुक चलाएपनी त्यो मृगलाई तिर लाग्न सकेन । मृग उनिहरुको नजिकै हुन्थ्यो तर पनि समात्न र भेट्टाउन मुस्किलै हुन्थ्यो । दिनभरिको परिश्रमले कुनै काम नभएपछी साझ पर्यो । दुबै दाजुभाइ एउटा ठुलो गुफामा गएर बास बसे । अब खानेकुरा के खाने भनेर चिन्ता पर्यो ।

यस्तो सुनसान पाटनमा मान्छे हुने कुरै भएन चिन्ताले व्याकुल भएका थिए । केही समयपछी रातको समयमा कसैले लौ यो खिर खाउँ भनेको कुरा आकाशवाणी भयो । उनिहरु भोकाएका हुदा खिर सपासप खाए । तर अचम्मको कुरा यो थियो कि त्यहाँ मानिसहरु कोहि थिएन, कता देखि यो खिर आयो भन्ने कुराको मनमा खुल्दुली भहिरहेको थियो । उनिहरु दिनभरी थाकेकाले गुफामा गहिरो निन्द्रामा सुते । बिहानाको समयमा त्यो मृग नजिकै सुतेको रहेछ । उनिहरु छक्क परे ।

अब मृग भेटियो छोप्नुपर्यो भनी दाने अगाडि सर्नुभयो तर मृगलाई समात्न सकिएन । जहाँ मृग जान्छ उनिहरु त्यही गए । बन्दुक पट्क्याए, बन्दुक पनि नपट्कने भयो । मृग अगाडी दौडिदैछ उनिहरु पछाडी दौडिदैछन तर पनि कुनै प्रयासले त्यो सुनौलो मृगलाइ समात्न सकेनन् । उनिहरुलाई मृगभन्दा अब सुनको माया बढी लागिसकेको थियो । त्यो मृगले उनिहरुलाइ विभिन्न ठाउँमा घुमायो ।

त्यो दिन पनि उनिहरु थाके अब, सुत्नुपर्यो भनी सुत्नको लागि गुफा गए । उनिहरु बेस्सरी थाकेकाले गहिरो निन्द्रामा परे । त्यही राती सपना भयो । सपनामा एउटा सुन्दरी कन्या केटिको रुप धारण गरि भन्न थाल्नुभयो । मैले तिमिहरुलाइ धेरै दुःख दिएँ । तिमिहरुको बन्दुक नउट्कीने बनाइदिएँ ।

सुनौलो मृगको रुपगरी भुल्याएर धेरै डुलाएँ । तिमिहरु भोकाएका थियौ, मैले खानेकुरा दिएँ । यी सबै क्रियाकलाप गर्नुको कारण थियो । खासमा म श्री बुढिनन्दा देवी हुँ । मलाई यो ठाउँ सारै राम्रो लाग्यो म यहाँ बस्न चाहान्छु । अब तिमि दुःखीहरुले मेरा लागी मन्दिर बनाइदेउँ र मेरो पुजारी बनी मेरो सेवा गर । तिमिहरुले मेरो सेवा गरेमा म सम्झेको बरदान दिनेछु । जो गरिब छन, जसका सन्तान छैन । जो पापी छन तिनिहरुले मेरो सेवा गरे भने म अवस्य बरदान दिन्छु ।

तिमिहरुले मेरो प्रचार गरिदिनु भनेर देवीले भन्नुभयो । ब्राह्मणको लागि बाधुँमा गङगाराम उपाध्यायलाई म खबर पठाउँछु । प्रत्येक वर्षको साउन पूर्णिामाको अघिल्लो दिनमा मेरो मन्दिरमा आएर पुजा आजा, होम गर्नु । तिमीहरु मेरो पुजारी र बाधुँका बैदार पट्टिका तिमिल्सिना ब्राह्मण मेरो हुमारा हुनु भनेर बरदान दिएर अन्तर्ध्यान हुनुभयो । बिहान पखको समयमा उनिहरु, नुहाई धुवाई गरि पवित्र भएर मन्दिर बनाउने कार्यमा व्यस्त भए । धमाधम गरि दुइ दाजुभाईले चट्टान फुटाली पत्थर निकाले । बुढिनन्दा देवीको लागि राम्रो किसिमको मन्दिर बनाउन सफल भए ।

घर फर्किने बेलामा एउटा सुनौलो मृग पनि भेटियो । त्यो मृगको सिङमा समात्दा हातमा सुन आयो । त्यो सुनको सिङ लाई लिएर देवीको मन्दिरमा चडाए । देवी प्रसन्न भएर धेरै सुनौला मृगको बथान उत्पन्न गरिदिनुभयो । उनिहरु खुसि भए र सकेजतिको सुन लिएर घरमा फर्किए। त्यहा पाटनमा भएका र घटेका सम्पुर्ण कुराहरु गाउँलेहरुलाई जानकारी दिए ।

गाउँलेहरु प्रसन्न भए, अनि प्रत्येक बर्षको साउन महिनाको पुर्णिमामा जात्रा लगाउने सल्लाह भयो । त्यही बर्ष बाट अहिले सम्म पनि त्यहाँ जात्रा मनाइन्छ । नुरी गाउँको सबैभन्दा ठूलो जात्रा भनेको साउन पुर्णिमा हो । उक्त जात्रामा टाढा टाढा बाट मानिसहरु आउने गर्दछन । देवीको पुजा आजा लगाएत डेउडा नाच, लाखे नाच पनि हुने गर्दछ।

प्रकृतिको अनुपम मिलेको यो क्षेत्र सारै सुन्दर छ । आहा ! त्यहाँ फुलेका हजारौं रङगी बिरङगि फुलहरुले कस्को पो मन प्रसन्न नहोला र तालैतालले शोभायमान भएको त्यो क्षेत्रमा नेपालकै अग्लो स्थानमा रहेको तिलिचो तालपछिको दोस्रो ठुलो ताल बुढिनन्दा ताल यसै क्षेत्रमा पर्दछ । जुन समुन्द्र सतहबाट झन्डै ४६०० कि।मि उचाइमा रहेकोछ । सुन्दर पाटनको त्यो दृश्यले साच्चिकै नै स्वर्ग गएको महसुस हुन्छ । पाटनमा भएका फुलहरुको सुगन्धले धेरै रोगहरुलाई सन्चो बनाई चमत्कार हुने गर्दछ । प्रचार प्रसार गरि यो क्षेत्रलाइ बिस्तार गर्नेहो भने साच्चै नै पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण फाइदा हुने देखिन्छ । यसलाई सबैको माझमा पुर्यानु हामी सबैको साझा कर्तव्य हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल