+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल फुटबल : किन बन्न सकेन युवा लक्षित योजना ?

सजिलोपाना संबाददाता
२०७९ श्रावण १९, बिहीबार

माल्दिभ्स र श्रीलङ्काविरुद्ध लगातार साफ यू-२० च्याम्पियन अन्तर्गतको दुई खेल जित्दा नेपाली फुटबल टोलीको व्यापक प्रशंसा भयो। प्रशिक्षक मेघराज केसीले प्रतियोगिताको उपाधि जित्ने सपना देखे।

तर भारतसँग कुनै पनि स्तरको प्रतियोगितामा नेपालले इतिहासमा कहिल्यै नबेहोरेको ८-० अन्तरको फराकिलो पराजय भोगेसँगै युवा टोलीको कमजोरी छरपस्ट भएको छ। यो सँगै भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनशिपबाट नेपाल बाहिरियो।

दुई जितको उत्साह र प्रतियोगिताबाटै बाहिरिने गरी भोगेको पराजयपछि प्रश्न उठेको छ । के नेपालको युवा टोलीको अवस्था कमजोर छ ? छ भने किन ?

कमजोर आधार

हो, नेपाली युवा टोलीको अवस्था कमजोर छ। किनकी लामो समयदेखि युवा खेलाडी लक्षित कार्यक्रम छैन। वास्तविकता यही नै हो,' राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यले भने।

पछिल्लो चार वर्षको गतिविधि नियाल्ने हो भने युवा प्रतिभाले क्षमता प्रदर्शन गर्ने कुनै 'प्लेटफर्म' नियामक निकाय अखिल नेपाल फुटबल सङ्घ एन्फाले बनाएको देखिँदैन।

युवा टोली लक्षित घरेलु प्रतियोगिता ठप्प जस्तै देखिन्छ। पछिल्लो समय एन्फाले २०७६ सालमा युवा खेलाडीलक्षित एउटा प्रतियोगिता गरेको थियो । ललित स्मृति यू-१८ प्रतियोगिता।

कोरोनाभाइरस सङ्क्रमणको बहानामा त्यो प्रतियोगिताको एउटा संस्करण भन्दा बढी हुन सकेन। त्यही वर्ष १६ वर्ष उमेर समूहका खेलाडीहरू सहभागी रहने क्विक्स कप फुटबल प्रतियोगिता सम्पन्न भयो। तर त्यसले पनि निरन्तरता पाउन सकेन।

युवा खेलाडी तयार हुन नसक्दाको असर जारी प्रतियोगितामा स्पष्ट रूपमै देखियो।

'एन्फासँग यति धेरै प्रशिक्षकहरू छन्। जिल्लाहरू छन्। तिनीहरूको काम के तरु चुनावमा भोट हाल्ने मात्र काम त होइन होला। युवा लक्षित परियोजनाहरू सुरु भएको भए सबैले काम गर्थे नि। हामी पनि खाली बसिरहेका छौँ। काम दिए त सबैले गर्थे,' प्रशिक्षक शाक्यले भने।

युवा खेलाडी लक्षित कुनै योजना नभएपछि जारी प्रतियोगितामा सहभागी गराउनका लागि एन्फाले खेलाडीहरूलाई खुल्ला आह्वानमार्फत् छनोट गरेको थियो।

त्यो पनि यू-२० च्याम्पियनशिपको मिति घोषणा भएपछि। त्यसमा राष्ट्रिय टोलीबाट खेलिसकेका दुई खेलाडी आयुष घलान र कृतिशरत्न छुन्जु सहित केही 'बी' डिभिजन लीगमा खेलिसकेका खेलाडी छानिए। बाँकी खेलाडीहरूमा त्यस्तो कुनै अनुभव थिएन।

'प्रतिस्पर्धात्मक खेलको तनाव त्यस्ता खेलाडीहरूले लीन सक्दैनन्। अनुभवको कमी भनेको यही नै हो। त्यसैले दोष न खेलाडीको हो न प्रशिक्षकको। दोष संरचना तयार नुहुनुको हो,' शाक्यले थपे।

राम्रो विगत

पछिल्लो समय ध्यान केन्द्रित हुन नसकेको युवा टोलीको विगत भने राम्रो थियो। विगतमा नियमित रूपमा यू-१४, यू-१६ प्रतियोगिता हुन्थ्यो। एन्फा एकेडेमीबाट पनि राम्रा खेलाडीहरू तयार हुने गर्थ्यो।

त्यस्तै जापान फुटबल सङ्घको सहकार्यमा एन्फा जेएफए १६ वर्ष उमेर समूहको प्रतियोगिता हुने गर्थ्यो। तर यी प्रतिस्पर्धाहरू अहिले एकादेशको कथा भइसकेका छन्।

विगतमा एउटा समय नेपालको युवा टोली सिनियर टोली भन्दा बलियो देखिएको थियो। र यसले सिनियर टोलीलाई बलियो साथ समेत दिएको देखिन्थ्यो।

त्यस्ता उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन। सन् २०१७ मा नेपालले भुटान गएर साफ यू -१८ च्याम्पियनशिप खेल्यो। पहिलो खेलमा भुटानसँग पराजित भए पनि बाँकी सबै खेल जितेर नेपाल उपाधि नै उचाल्न सफल भयो।

सन् २०१५मा काठमाण्डूमा नेपालको युवा टोलीले यु-१८ साफ च्याम्पियन जितेको थियो। त्यो पनि फाइनलमा भारतलाई पराजित गरेर।

प्रतिद्वन्द्वीको तयारी कस्तो छ ?

प्रशिक्षक मेघराज केसीले भारत जानु अगाडि भनेका थिए,'मलाई प्रतिद्वन्द्वीको बारेमा केही थाहा छैन। त्यहीँ पुगेर मात्र थाहा हुन्छ।'

प्रशिक्षक केसीको यो भनाइले नेपाली पुरै युवा टोलीकै वास्तविकता बोकेको थियो। तर प्रतिद्वन्द्वीबारे नेपाललाई केही पनि थाहै नभएको भने होइन।

दक्षिण एशियाली राष्ट्रहरूले युवा फुटबल केन्द्रित योजना बनाएर काम गरेको धेरै भइसकेको छ। तीन वर्ष अगाडि नेपालमै भएको साफ यू-१८ च्याम्पियनशिपमा नेपाल भुटानसँग पराजित भएको थियो। भुटानले 'युगेन एकेडेमी' बनाएर युवामा उल्लेख्य रूपमा लगानी गरेको थियो, गरिरहेको छ।

कोभिड महामारीकाबीच भुटानले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको कारण यसपालिको प्रतियोगितामा पनि उ समावेश छैन।

बाङ्गलादेशले पनि 'बीएफएफ एलिट एकेडेमी' सञ्चालन गरिरहेको छ जसले बाङ्गलादेशको दोस्रो डिभिजनको बाङ्गलादेश च्याम्पियनशिप लीग खेल्ने गर्छ।

भारतले त 'इन्डियन एरोज' को नामबाट युवा खेलाडी लक्षित योजना सुरु गरेको एक दशकभन्दा बढी भइसक्यो।

भारतीय फुटबल सङ्घले ती खेलाडीहरूलाई भारतको दोस्रो डिभिजनको लिग प्रतियोगिता 'आई लीग' मा प्रतिस्पर्धा गराएर मनग्य अनुभव बटुल्ने बाटो खुला गरेको छ।

भारतले विश्वकप खेल्ने लक्ष्यसहित युवा टोलीमा व्यापक लगानी गरिरहेको छ। नेपाल, माल्दिभ्स र श्रीलङ्काको अवस्थामा भने समानता देखिन्छ।

माल्दिभ्सले युवा लीग सञ्चालन गरेको देखिँदैन। त्यस्तै पछिल्लो समय श्रीलङ्काको फुटबलको स्थिति खराब छ र उनीहरूसँग पनि युवा लक्षित कार्यक्रम रहेको देखिँदैन।

राष्ट्रिय फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले युवाहरूको असफलतामा दुखी हुँदै भने, 'चिन्ता त अब गर्नुपर्ने दिन आउँदै छ भन्ने मेरो बुझाइ हो। यदि घरेलु फुटबलको संरचना र युवा फुटबलको गतिविधि नहुने हो भने भोलि गएर प्रत्यक्ष असर राष्ट्रिय टोलीलाई पर्नेछ। युवा खेलाडीलाई अनुभवी कसरी बनाउने ? यसरी नै बारम्बारको गोल अन्तरको खेलहरूबाट ?

सुस्ताएको वर्तमान

छिमेकी भारतसहित सार्क राष्ट्रहरूले युवा टोलीमा लगानी गर्दा एन्फा भने किन पछि परिरहेको छ त ? एन्फासँग तयारी जबाफ छ -कोरोनाभाइरस महामारीका कारण यस्तो अवस्था सृजना भएको हो।

अहिले नेपालमा युवा खेलाडीहरू प्रतिस्पर्धामा उत्रिने 'प्लेटफर्म' शहिद स्मारक ए, बी र सी डिभिजन लीग मात्रै रहेको देखिन्छ। त्यसबाहेक जिल्लामा हुने नकआउट प्रतियोगिताहरू पनि छन्। तर त्यसबाट पूर्णतः युवा खेलाडी विकास हुनसक्ने अवस्था देखिँदैन।

फिफाले युवा फुटबलमा क्लबहरू केन्द्रित हुन भन्ने उद्देश्यका साथ 'एएफसी लाइसेन्स' पाउन युवा एकेडेमीको स्थापनालाई अनिवार्य सर्तका रूपमा नै राखिदिएको छ।

जसअनुरूप केही क्लब तथा तीन विभागीय टोलीले युवा एकेडेमी सञ्चालन अभियान तीव्रताका साथ अगाडि बढाउन तयारी गरेका छन्। तर एन्फाले नै यसको जिम्मेवारी लीन अति आवश्यक देखिन्छ ?

एन्फाका महासचिव किरण राई भन्छन्, 'युवा टोलीबाट उपाधिभन्दा पनि अनुभवको आशा बढी राख्ने प्रचलन नै हो। समग्रमा भारतमा युवा टोलीले राम्रो प्रतिस्पर्धा गरेको छ। हामी उनीहरूको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था म देख्दिन।'

विगत चार वर्ष एन्फा पदाधिकारीहरूबीचको चरम द्वन्द्वका कारण पनि सोचेजस्तो काम एन्फाबाट हुन नसकेको देखिन्छ। यसलाई स्विकार्दै महासचिव राई रोकिएको काम अब धमाधम अगाडि बढ्ने बताउँछन्।

'ललित स्मृति फुटबल लगायतका युवा लक्षित कार्यक्रमहरू अब निरन्तरता पाउनेछ। एन्फा अब दीर्घकालीन रणनीतिक युवा फुटबल परियोजनामा लाग्नेछ,' उनले भने।

एन्फामा यूथ कमिटी रहने प्रावधान छ। तर निर्वाचन भएको एक महिना भन्दा बढी समय बितिसक्दा समेत कार्यसमितिको बैठक बस्न नसक्दा उक्त कमिटी गठन हुन सकेको छैन।

समग्रमा आन्तरिक द्वन्द्व र निर्वाचनको लामो राजनीतिक धपेडीमा एन्फा व्यस्त हुन पुग्दा फुटबल विकासका योजनाहरू छायामा परेको देखिएको छ। यसको असर भारतको भूवनेश्वरमा प्रत्यक्ष देखिसकेको छ। अब पनि ढिला गर्नु हुन्न भन्ने मात्र अहिलेको प्रश्न देखिन्छ। बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता