काठमाडौं । अमेरिकी डलरको भाउ बिहीवार फेरि उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय बजार खुलेलगत्तै बजार उकालो लागेको हो। एक डलरको भाउ १३१ रुपैयाँ ४१ पैसा पुगेको छ।
यता युरो भने १२५ रुपैयाँ ७९ पैसामा झरेको छ। डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ।
यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ।
बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।
भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
डलरको मुल्य बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।
प्रतिक्रिया