समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै

काठमाडौँ ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमा दलहरूले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ । आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह पनि गरिसकेको छ ।

आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेश गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो । आयोगको आग्रहबमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने आयोगका सचिव एवं उक्त प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले बताए । उक्त प्रणालीमा ६८ दलले भाग लिएका छन् ।

यस्तै यही असोज २२ गते उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधका लागि निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्