+
Search

ताजा अपडेट +

पपुलर +

खसी भनेर बाख्राको मासु बिक्री

Nanu Bhatta
२०७९ आश्विन १५, शनिबार

विराटनगर । खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा ९टोल फ्रि नम्बर०मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो ।

हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो भने बाख्राको मासु पनि खसीको मूल्यमा बिक्री गर्ने गरेको पाइएको थियो ।

विराटगर–२ तीनपैनी स्थित नेवी फ्रेस हाउस, हाटखोलास्थित जेकी मिटमा बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको छ । अनुगमन टोलीले बाख्राको मासु जफत गेर तत्कालै नष्ट गरेको थियो । त्यसैगरी विराटनगर–८ देवकोटा चोकस्थित विराट एकीकृत कृषि फार्मले पाँच महिनादेखि डिप फ्रिजमा राखेको माछा गन्हाएको अवस्थामा फेला परेको छ । पसलका कर्मचारीले समेत पाँच महिनादेखि मरेको माछा फ्रिजमा राखेको स्वीकारेका थिए ।

यस्तै, महानगरले पुरानो गुद्रीमा अनुगमनका क्रममा पुग्दा अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश व्यापारी पसल बन्द गरेर भागेका थिए । सोही टोलीले गुद्रीसहित सरोचिया, बरगाछी, तीनपैनीचोक, देवकोटा चोक, हाटखोलालगायत स्थानमा सञ्चालित करिब डेढ दर्जन माछा–माछा मासु पसलको अनुगमन गरेको थियो । खान मिट, गाउँले मिट सेन्टर, जाकिर मिट पसल, रोयल मल्लिक मिट सेन्टरलगायतका पसलका फ्रिजभित्र गन्हाएको मासु फेला परेको थियो ।

टोलीले बाख्राको मासु, गन्हाएको मासु र माछालाई फिनेल लगाएर तत्कालै नष्ट गरेको थियो । टोल फ्रि ९हट लाइन०मा आएका गुनासो सम्बोधन गर्ने क्रममा महानगरले माछा–मासुको पसल अनुगमन गरेको महानगरका प्रमुख कोइरालाले बताए । उनले धेरै पसलले उपभोक्तालाई ठगिरहेको भेटिएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा