यी हुन् उपत्यका नजिक पदयात्राका लागि उत्कृष्ट दश गन्तव्य

काठमाडौं । कतिपय व्यक्ति घुम्नका लागि सोखिन हुन्छ । आफु बसेका ठाउँबाट नजिक होस् या टाढा घुम्न रुची भएका व्यक्तिलाई केही फरक पर्दैन । उनीहरु लामो दुरीको सवारी साधन प्रयोग गरेर होस् या हिडेर हुन्छ घुम्न जान्छन् नै । यहाँ हामीले यस्तै घुम्न सोखिन भएका व्यक्ति जसलाई काठमाडौं उपत्यकाबाट पदयात्रा गर्न सकिने गन्तव्यको बारेमा चर्चा गरेका छौं । यसपालीको दशैंको विदामा उनीहरुलाई यी देश पदयात्राका गन्तव्यहरु उपर्युक्त हुन सक्छन् । काठमाडौंमै बस्नेका लागि नजिकका केही गन्तव्य छन् जहाँ केही दिन रमाइलोसँग बिताउन सकिन्छ । काठमाडौं उपत्यका नजिकका केहि हाइकिङ गर्न सकिने स्थानको विस्तृत विवरण प्रस्तुत गर्ने प्रयास गरेका छौं ।

धुलिखेल
उपत्यकामा बस्नेहरुका लागि प्रमुख पर्यटकीय गन्तव्य हो धुलिखेल । काठमाडौंबाट झण्डै ३२ किलोमिटरको दुरीमा रहेको धुलिखेलमा पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले पनि भरिपूर्ण रहेको छ । परिवारिक घुमघामको लागि पनि धुलिखेललाई प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ ।

काठमाडौंबाट नजिक र सार्वजनिक यातायातको पनि सुविधा हुने भएकाले पनि धुलिखेललाई प्रमुख पर्यटकीय स्थलका रुपमा लिइन्छ । उक्त ठाउँमा घुम्न जान सबै मौसममा परिवार सहित धेरै मानिसहरु जाने गर्छन् । पदयात्राका लागि पनि धेरैजसो मानिसहरुको जाने गर्छन् ।

धुलिखेलमा सर्वसाधारणले पनि रमाइलो गर्न सक्ने होटेल–रिसोर्टको राम्रो सुविधा रहेको छ । महँगा होटेलदेखि आमसर्वसाधारणले समेत यहाँ विदा मनाउने गरेका छन् । पर्यटकीय स्थलको रुपमा परिचित धुलिखेलमा पिकनिक पनि जान सकिन्छ ।

नगरकोट
उपत्यका नजिकको प्रमुख पर्यटकीय गन्तव्य हो नगरकोट । काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा रहेको छ । नगरकोटबाट उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य सकिने र सफा मौसम भएकाले पनि प्रसिद्ध रमणीय पर्यटकिय स्थल रुपमा लिइन्छ । त्यत्ति मात्र नभएर सूर्योदय, सूर्यास्त र हिमालको दृश्यावलोकनका लागि पनि नगरकोट प्रसिद्ध मानिन्छ ।

समुन्द्र सतहबाट २१ सय ५९ मिटर उचाईंमा रहेको छ । काठमाडौंबाट ९ किलोमिटर दुरी रहेको नगरकोटमा हाइकिङ ३ जान तीन घण्टामा समय लाग्छ । हाइकिङका लागि उक्त क्षेत्रमा उपत्यका नजिक साँखु, सुन्दरी जल, चाँगुनारायण, भक्तपुर, बनेपा र धुलिखेलबाट यात्रा गर्न सकिनेछ । हाइकिङ जाँदा सगरमाथा, मनास्लु, गणेश, लाङटाङ लगायतका हिमाली शृङ्खला देख्न सकिन्छ ।

चन्द्रागिरि
उपत्यका नजिकको अर्को प्रमुख पर्यटकीय गन्तव्य चन्द्रागिरि । काठमाडौंबाट नजिक रहेको चन्द्रागिरीमा पछिल्लो समय केबुलकार र सुविधा सम्पन्न होटलको सुविधाले पनि पर्यटकको प्रमुख गन्तव्य बनेको छ चन्द्रागिरि ।

चन्द्रागिरिलाई पर्यटकिय गन्तव्यका रुपमा मात्र नभएर धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । समुद्र सतहबाट दुई हजार ५ सय मिटरमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधा सम्पन्न पर्यटकीय गन्तव्यका रूपमा अहिले विकसित भएसकेको छ ।

उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि राम्रो गन्तव्य हो । चन्द्रागिरि जानको लागि काठमाडौंको थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ । चन्द्रागिरि घुक्न आउने पर्यटकहरुमा लागि सुविधा सम्पन्न होटल समेत रहेका छन् । चन्द्रागिरि जानका लागि थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ ।

चम्पादेवी
उपत्यका नजिक रहेको चम्पादेवी पदयात्राका लागि पछिल्लो समय उत्कृष्ट गन्तव्य बनेको छ । चम्पादेव काठमाडौंको दक्षिणतिर रहेको समुद्र सतहबाट २ हजार २ सय ५० मिटर उचाइ रहेका छ । पदयात्राका लागि मात्र नभएर चम्पादेवी धार्मिक तथा ऐतिहासिक रुपमा पनि प्रसिद्ध छ । उक्त क्षेत्रबाट सर्वोच्च शिखर सगरमाथासहित १२ वटा हिमालहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । साथै त्यस क्षेत्रबाट उपत्यकाको मनोरम दृश्य समेत देख्न सकिन्छ ।

पदयात्राका लागि फर्पिङ, कीर्तिपुरको पुष्पलाल पार्क, चाल्नाखेलको बोसनबाट जान सकिन्छ । धार्मिक तथा ऐतिहासिक रुपमा पनि प्रसिद्ध रहेका चम्पादेवी पदयात्रा, दृश्यावलोकन र प्राकृतिक सौन्दर्यको अनुभव उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ ।

शिवपुरी, चिसापानी
समुद्री सतहबाट २ सय ५ सय ६३ मिटर उचाइमा रहेको शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा पर्यटकीय हिसाबले पनि उत्कृष्ट गन्तव्य रहेको छ । उपत्यकाबाट नजिकै भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक शिवपुरी पुग्ने गर्दछन् ।

घना जंगलको उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमालको मनोरम दृश्यका साथै काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ पारिवारिक सुविधा सम्पन्न होटेल, रिसोर्ट तथा होमस्टेको सुविधा रहेको छ ।

पर्यटकीय प्रसिद्ध रहेको शिवपुरी जस्तै पदयात्राका लागि चिसापानी पनि उत्कष्ट गन्तव्य रहेको छ । चिसापानी सुन्दरीजलबाट ११ किलोमिटर र समुद्री सतहबाट २ हजार २ सय मिटरमा उचाईं रहेको छ । वरिपरिका डाँडा देखिने रमणिय अग्लो स्थानमा रहेको चिसापानी सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकनका लागि पनि चिसापानी उत्तिकै प्रख्यात छ । यहाँबाट सगरमाथा, माछापुच्छ«े, गौरीशंकर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमाल लगायत हिमश्रृङ्खला देख्न सकिन्छ ।

गोदावरी
उपत्यका नजिकको रहेको अर्को प्रमुख गन्तव्य हो गोदावारी । ललितपुरको सातदोबाटो चोकबाट ७ किलोमिटर दूरीमा रहेको गोदावरी प्राकृतिक सौन्दर्यता लागि पनि उत्कृष्ट ठाउँ रहेको छ ।

प्राकृतिक सौन्दर्यता मात्र नभई धार्मिक तथा पौराणिक रुपमा प्रसिद्धि कमाएको गोदावरीमा वनस्पति तथा पुष्प उद्यान पर्या–पर्यटनका लागि उपयुक्त गन्तव्य हो । पर्यटकीय गन्तव्यका साथै पिकनिक र पारिवरिक रिफ्रेसका लागि गोदावरी उपयुक्त ठाउँ रहेको छ । गोदावारीमा बस्नको लागि आरामदायी होटल, रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ । ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको यो गोदावारी प्राकृतिक सौन्दर्ययुक्त छ ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्णरहेको गोदावारीमा पदयात्रा सँगसँगै विभिन्न गीत र फिल्मको सुटिङका लागि पनि उत्कृष्ट ठाउँ रहेको छ । उपत्यका नजिक रहेकाले धेरै पर्यटकहरुको भिड लाग्ने गर्छ ।

फूलचोकी
फूलचोकी पदयात्राका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पाटनदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ रहेको फूलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल पनि हो । समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाईमा रहेको फूलचोकी काठमाडौ उपत्यकालाई घेरेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका हिम श्रृङखलाको पनि दृश्यावलोकन गर्न सकिन्छ ।

फुलचोकीको विशेषता भनेको त्यहाँको आकर्षण वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् । उक्त क्षेत्रमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य गरी धेरै पर्यटकहरु जाने गरेका गर्छन् । प्राकृतिक रुपले भरिपूर्ण रहेका फुलचोकी पछिल्लो समय पदयात्राका लागि धेरै पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ ।

लाँकुरी भन्ज्याङ
लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने लाँकुरी भन्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृङ्खला, गणेश हिमाललगायत हिमालहरुको दृश्यावलोकनका लागि परिचित छ ।

चक्रपथबाट १३ किमिको दूरीमा पर्ने लाँकुरी भन्ज्याङ सूर्योदय राम्रोसँग देखिने भन्ज्याङका रूपमा परिचित छ । लगनखेलबाट ५ किलोमिटर पदयात्राबाट गरेपछि लाँकुरी भन्ज्याङ पुग्न सकिन्छ । लाँकुरी भन्ज्याङकाट सगरमाथादेखि सबै हिमाल देख्न सकिन्छ । साथै वनजंगलले ढाकिएको प्राकृतिक सुन्दरताको मनमोहक दृश्य देख्न सकिने लाँकुरी भन्ज्याङबाट सिंगो उपत्यकालाई दृश्यावलोकन गर्न सकिन्छ ।

लाँकुरी भन्ज्याङ वैदिक कालको सांस्कृतिक स्तम्भका रूपमा रहेको शृंग ऋषिको गुफा आदि कारणबाट पनि महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा परिचित छ ।

सुन्दरीजल
काठमाडौं नजिकका अर्को घुम्न लायक गन्तव्य हो सुन्दरीजल । काठमाडौँबाट उत्तरमा १५ किलोमिटर दुरीमा रहेको यो ठाउँ नाम जस्तै सुन्दर छ । दूध जस्ता सेता झरनाका नामले चिनिएको सुन्दरीजल हाइकिङ जानका लागि पनि प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । काठमाडौंबाट सुन्दरीजल पुग्न पदयात्रा जानेहरुका लागि ६ घण्टा लाग्छ । सुन्दरीजल हाइकिङका लागि मात्र नभएर पारिवारिक घुमघामका लागि पनि राम्रो ठाउँ मानिन्छ ।

प्राकृतिक रुपमा पनि रमणीय रहेको यो ठाउँलाई धेरैले आफ्नो घुम्ने गन्तव्य बनाएका छन् । काठमाडौंभन्दा अलिकमाथि रहेको यो ठाउमाँ प्राकृतिक वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । यो ठाउँमा घुम्न जानेहरूका लागि खान र बस्न लागि उचित सुविधायुक्त होटल, रिसोर्ट तथा होमस्टेहरु पनि रहेका छन् । सुन्दरी जल वनभोज र घुमघामको लागि पनि प्रसिद्ध छ । वनले भरिभराउ यो क्षेत्रमा झरना हेर्न पाइन्छ । सुन्दरीजलबाट नगरकोटसम्म हाइकिङ जान पनि सकिन्छ ।

ककनी
पदयात्राका लागि काठमाडौं नजिक रहेको अर्को मुख्य पर्यटकीय गन्तव्य हो नुवाकोटको ककनी हो । हिमाल, सूर्योदय र सूर्यास्त हेर्न लागि पनि प्रख्यात रहेको ककनी माछापोखरीबाट २१ किलोमिटर दुरीमा रहेको छ । पर्यटकीय गन्तव्य मात्र नभएर ककनी ऐतिहासिक र सांस्कृतिक रुपमा उत्तिकै महत्वपूर्ण छ ।

ऐतिहासिक महत्व बोकेको बसन्ती दरवार, रुम्वा राजाको दरवार र स्थानीय सांस्कृतिक झाँकी आदि ककनीमा रहेका छन् । समुद्र सतहबाट २ हजार २ मिटरको उचाईंमा रहेको ककनीबाट दक्षिणमा सिमभन्ज्याङ र दामन, पूर्वमा काठमाडौं उपत्यका, उत्तरमा गणेश हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, बुद्ध, मनास्लु, हिमचुली, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा, ल्होत्से लगायत हिमाल र थानसिंह फाँटका मनोरम दृश्य देख्न सकिन्छ ।

हरियाली वातावरणका कारण पनि ककनी घुम्नका लागि उपयुक्त ठाउँ हो । ककनी रमणिय पिकनिक स्पट पनि हो । ककनीमा सुविधायुक्त होटल छन् । ककनीबाट हाइकिङ सुरु गरेर पिकनिक स्पट, मेमोरियल पार्क, स्काउट भवन हुँदै निकुन्ज र निकुन्जबाट तारकेश्वर झरना हुँदै तारकेश्वर महादेव र त्यहाँबाट गएकै बाटो फर्केर पाँचमानेसम्म पदयात्रा गर्न सकिन्छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्