स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण

काठमान्डौ । नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ ।
शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरूले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् । उनीहरूले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए ।

उनीहरूले सरकारले डेंगु नियन्त्रणको लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि प्यारा सिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने, उपचार निस्शुल्क हुनुपर्ने, डेंगु परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निस्शुल्क हुनुपर्ने, राज्यले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, डेंगुलाई सरकारले चाँडो भन्दा चाँडो डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग राखेको छ । ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामको लागि सरकार लागिरहेको बताए ।

उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए । उनले प्रत्येक शनिबार १० बजे १० मिनट खोज र नष्ट गर भन्ने अभियान चलाएको र सरकारले पानी जमेका ठाउँहरू र फोहोर भएका ठाउँहरू नष्ट गर्ने काममा लागेको बताए । उनले यसमा स्थनीय तह बढी क्रियाशील हुनुपर्ने बताए । मन्त्री खापुङले काठमाडौंमा महानगरलाई यसको जिम्मा दिए पनि अपेक्षाअनुसार काम नभएको जस्तो पाइएको बताए । उनले आफूलाई प्राप्त रिपोर्ट अनुसार बजारमा औषधि अभाव नरहेको दाबी गरे । संकटकाल घोषणा गरिसक्नुपर्ने तहमा डेंगुको महामारी नपुगेको बताए ।

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले सरकार छ भन्ने अनुभूति जनताले गर्ने गरेर सरकारले काम गर्नुपर्ने बताए । उनले डेंगुको महामारी अहिले बढिरहेकाले सरकारले जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन नसकेको बताए । उनले डेंगुको उपचार भइरहेको अस्पतालहरूमा डेंगुसम्बन्धी सम्पूर्ण उपचार निस्शुल्क हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्