काठमाडौँ । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि स्वतः पदमुक्त भएका सभामुख अग्नि प्रसाद सापकोटाले पदीय हैसियतमा प्राप्त सेवा सुविधा त्याग्न अस्वीकार गरेका छन् ।
संविधान बमोजिम प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनको अघिल्लो दिनबाट सभामुख र उपसभामुख पदमुक्त हुने भनिएको छ । त्यस अनुसार बन्द सूची पेश भएको असोज २ को अघिल्लो दिन अर्थात् असोज १ गते रातिदेखि सभामुख पदमुक्त भइसकेका छन् ।
तर सापकोटा आइतबार बडा दशैंको फूलपाती बढाइँका क्रममा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा आयोजित समारोहमा पनि सभामुखकै हैसियतमा सहभागी भए । उनी सभामुखको सरकारी गाडी बा १ झ ८२२९ नम्बरको सवारीमा थिए ।
सापकोटाले यसअघि सभामुखकै हैसियतमा व्यवस्थापन समिति बैठक बोलाएर कर्मचारीको सरुवा बढुवा गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया