+
Search

ताजा अपडेट +

पपुलर +

पहिरोले गुल्मीका ग्रामीण सडक बन्द, दशैँको टीका थाप्न जानेहरू समस्यामा

अरुणा ढकाल
२०७९ आश्विन १९, बुधबार

गुल्मी । लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको रिडी–वामीटक्सार सडक बन्द भएको छ । रिडी–वामीटक्सार सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका ५ को बाँदरे भिर र ६ को डहरेमा पहिरो खसेपछि आज बुधवार बिहानैदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिएका छन् ।

त्यसैगरी वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी कोरिडोर पनि बिहानैदेखि बन्द छ । कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेका कारण सडक बन्द भएको हो ।

वर्षाका कारण सदरमुकाम तम्घासदेखि मुसिकोट नगरपालिका जाने सडक पनि बन्द भएको छ । यो सडक खण्डअन्तर्गत मुसिकोट नगरपालिका ३ को भङल्याङ्ग र दजाकोटमा सडक माथिबवाट ठूलो पहिरो खसेको प्रहरीले बताएको छ ।

सडक बन्द भएपछि दशैँमा टीका थाप्न र आशीर्वाद लिनका लागि आफन्तकोमा जानेहरू समस्यामा परेका छन । हिजो मङ्गलवार बेलुकीदेखि लगातार वर्षा भइरहेको र पानी नरोकिएको हुँदा सडक सञ्चालन गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल