+
Search

ताजा अपडेट +

पपुलर +

बेनी-जोमसोम सडक अवरुद्ध, पर्यटक परे अलपत्र

अरुणा ढकाल
२०७९ आश्विन १९, बुधबार

जोमसोम । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको ७६ किमी (बेनी–जोमसोम) सडक अवरुद्ध भएको छ। अविरल वर्षाले बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने कतिपय स्थानमा सडक भासिएको छ।

यसवर्ष बर्खा सकिएपनि पछिल्लो समय दसैं पर्वको दुई दिन अघिदेखि अविरल वर्षा भइरहेको छ। राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जलथले, गुईठे भीर, रुप्से झरना र काभ्रेभीर लगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको हो।

दसैं अघिको अविरल वर्षाले बेनी-जोमसोम सडकको म्याग्दी खण्ड पूरै हिलाम्मे भएको छ भने कतिपय स्थानमा सडक ध्वस्त भएको सुपरभाइजर शेरचनले जानकारी दिए। बेनी-जोमसोम सडक खण्डको शाखा नदीको बहाव उच्च हुँदा केही स्थानमा सडक पुरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्न क्रम अझै रोकिएको छैन।

दसैंको मुखमा अविरल वर्षाले सडक अवरुद्ध हुँदा दसैं पर्व मनाउन हिँडेका सर्वसाधारण तथा मुस्ताङ भ्रमण गर्न आएका पर्यटकबीच सडकमै अलपत्र परेको सुपरभाइजर शेरचनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल