काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३० गतेदेखि विक्री खुला गरेको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको हो । यो आईपीओ विक्रीको लागि छिटो अवधि असोज १४ गतेसम्म तोकिएको थियो । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि असोज ३० गतेसम्मको मिति तय गरिएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी रू ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ स्थानीयमा वितरण गर्न लागेको हो । कुल कित्ता आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका ९तत्कालीन ढोढेनी र फलेनी गावि का वडा नं। ६ र ७ का स्थानिय बासिन्दाका लागि ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता छुट्याईएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिने सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यसका साथै ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्स्टेन्सन काउण्टर, एनएमबि बैंकको भोटेओडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत भौतिक रुपमा आवेदन दिन सकिने व्यवस्था रहेको छ । आयोजना प्रभावित स्थानीयले आस्बा सेवामार्फत आवेदन दिन नसकिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया