काठमाडौं । दशैं अघिको साता नेप्से परिसूचक करिब १५ अंक बढेको थियो । सो भन्दा अघिल्लो साता १८३८.९६ विन्दुमा बन्द भएको नेप्से, दशैं अघिको साता १४.८० अंक बढेर १८५३.७६ विन्दुमा पुगेको हो ।
साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढेर बन्द भएसँगै, नेप्सेले सो बराबरको अंक कमाएको हो । दशैं अघिका अन्तिम तीन कारोबार दिन बजार बढेर बन्द भएको थियो । यस अनुसार दशैंपछि अर्थात यस साता नेप्से परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ । त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ ।
अघिल्लो साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ । यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ । नेप्से बढेपनि सो साता भोल्यूम भने कमजोर रहेको छ । सो साता नेप्सेमा दैनिक औषतमा ७१ करोड ३३ लाख रुपैयाँ बराबरका मात्र शेयर कारोबार भएको थियो ।
नेप्सेको २० दिने औषत भोल्यूम ९८ करोड ९६ लाख रुपैयाँ रहेको छ । २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २७.९२ प्रतिशत कम हो ।
प्रतिक्रिया