अपहरणमा परेका किशोरको हत्या

काठमाडौँ । सिरहाबाट अपहरणमा परेका एक किशोरको विराटनगर ल्याएर हत्या गरिएको खुलेको छ। सिरहाको गोलबजार नगरपालिका-३ का १७ वर्षीय अंशु सदाको हत्या गरिएको अवस्थामा शुक्रबार दिउँसो शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार विराटनगर महानगरपालिका-११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसको १ नम्बर कोठामा दिउँसो १:३० बजेतिर शव फेला परेको हो। हत्या गरेपछि शव सेतो तन्नामा पोको पारेर कोठाको लोबेड (पलङ) मुनि हालिदिएको पाइएको छ। नाकबाट रगत बगिरहेको अवस्थामा शव भेटिएका सदाको टाउको लगायत शरीरका विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ।

हत्या गरिएको कोठाभित्र रगत लतपतिएको कपडाहरू फेला परेको छ। असोज २३ गतेदेखि हराइरहेका सदाको खोजतलासका लागि परिवारका सदस्यले बिहीबार इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका थिए। गेष्ट हाउसका एक कर्मचारीले दिएको जानकारी अनुसार असोज २६ गते बुधबार राति ८ बजेतिर कोठा खोज्दै ४ जना आएका थिए।

उनीहरूले बुधबार र बिहीबारका लागि कोठा बुक गरे। अझै एक साता बस्ने भनेर शुक्रबार बिहान अर्को कोठा पनि बुक गर्न खोजेका थिए ।अझै एक साता बस्छौँ। थप एउटा कोठा चाहियो भनेर माग गरेका थिए, कर्मचारी भन्छन्, त्यसपछि पैसा लिएर आउँछौं भन्दै बाहिर निस्किएर गए। त्यहाँबाट फर्किएर आएनन्।

परिवारका सदस्यसँग फिरौती रकम माग गरिएपछि सदालाई अपहरण गरिएको खुलेको थियो। अपहरणपछि विराटनगर ल्याएर गेष्ट हाउसमा राखेर कोठाभित्र हत्या गरी शव पलङभित्र हालिदिएको पाइएको प्रहरीले जनाएको छ। सदाको हत्या कुन दिन भएको हो भनेर यकिन छैन।

अपहरणकारीले फिरौती रकम माग गरेपछि सदाका परिवारले माछापुच्छ्रे बैंकमामा पैसा हालिदिएको पाइएको प्रहरी स्रोतले बतायो। कति रकम फिरौती मागिएको थियो भन्ने खुलेको छैन। तर विराटनगर-९ स्थित बैंकको शाखा कार्यालयमा रकम निकाल्न पुगेका बेला अपहरण तथा हत्यामा संलग्न ३ जनालाई प्रहरीले बिहान ११ बजेतिर पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-६ का १९ वर्षीय प्रशान्तकुमार मण्डल, राकेश ठाकुर र मोरङको रतुवामाई नगरपालिका-५ का ३६ वर्षीय मनोज कार्की रहेका छन्। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई पक्राउ गरिएपछि सदाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको डीएसपी कार्कीले बताए। उनका अनुसार घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर कानुनी प्रक्रिया पूरा गर्दै घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्