काठमाडाैँ। जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले विद्रोही उम्मेदवारी दिएर पार्टी निकाला भएका उम्मेदवारलाई जनताले नरुचाउने ठोकुवा गरेका छन् ।
‘ठूलो स्केलमा काम गर्न खोज्दा सानो स्केलमा यस्ता बागी विद्रोही निक्लँदा रहेछन् । जसपा एमाले तालमेलविरुद्ध बगावत गर्नेहरुलाई दुवै पार्टीको नेतृत्वले कारबाही गरेका छन् । ती पार्टी छोडुवाको नाम लिएर म किन फेमस बनाऊँ ? ती अहिले हर्न, पंखा र कल छाप उम्मेदवार हुन् । दलबाट निष्कासितलाई जनताले रुचाउँदैनन्,’उनले भने, जसपाका मन्त्रीहरुलाई हटाएपछि मंसिर ४ को निर्वाचनको स्वच्छतामा प्रश्न उठ्ने पनि सुमनले औंल्याए ।
उनले भने, ‘बूढानीलकण्ठ दरबारमा सुतिरहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको हामीले होइन ? हाम्रा मन्त्री हटाएर उहाँले नुनको सोझो गर्नुभएन । त्यो अपरिपक्व र बचकना निर्णय हो । यो निर्वाचन आचारसंहिता विपरीत भयो । निर्वाचनको स्वच्छता र निष्पक्षतामा आशंका भयो ।’
साथै उनले मधेस प्रदेशमा कांग्रेसका तीन मन्त्री हटाउने निर्णय क्रियाको प्रतिक्रिया मात्र भएको दाबी गरे । उनले भने, ‘गठबन्धनको रणनीति पुनर्गठन गरेका छौं । हाम्रा मन्त्री हटाएपछि प्रदेशमा कांग्रेसका मन्त्रीहरुलाई हटाउनु बाध्यता भयो । यो क्रियाको प्रतिक्रिया हो । कार्यकर्ताको मान र इज्जतका लागि हो ।’
प्रतिक्रिया