+
Search

ताजा अपडेट +

पपुलर +

चितवन छोडेर गोरखा पुगेका प्रचण्डको चुनावी अभियान कस्तो छ ?

अरुणा ढकाल
२०७९ आश्विन २९, शनिबार

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ को उम्मेदवार बनेपछि केही दिनदेखि चुनावी प्रचार अभियानमा छन् ।

गोरखाका विभिन्न कार्यक्रमहरूमा अध्यक्ष प्रचण्ड सहभागी भएर चुनावी गतिविधि गरिरहेका छन् । शनिबार गोरखा जिल्लाका विभिन्न पेसा व्यवसायमा आवद्ध हुनेसँग भेटघाट गरेका छन् । भेटघाटको क्रममा उनले आफ्नो र गोरखासँगको सम्बन्ध प्रष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले पञ्चायत कालमा आफू गोरखाको सफल शिक्षक भएको बताए । उनले भने, ‘जतिबेला म २३ वर्षको थिएँ, त्यतिबेला म यहाँको सफल शिक्षक थिएँ, त्यतिबेला जीतबहादुर नेपाली माननीय हुनुहुन्थ्यो, म उहाँबाट सफल शिक्षक भएर सम्मानित भएको थिएँ ।’ उनले आफ्नो गोरखासँग पुरानो सम्बन्ध रहेको बताए ।

उनले पञ्चायत कालमा आफू भूमिगत हुँदा गोरखामा नै हेडक्वार्टर बनाएर राजनीति गतिविधि चलाएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘क्रान्तिको सुरुवात गर्ने बेलाम पनि अन्तिम बैठक गोरखामा नै गरेका थियौँ, त्यसले गोरखासँगको मेरो सम्बन्ध ज्यादै पुरानो र अत्यन्तै घनिष्ठ रहेको छ ।’

चितवन क्षेत्र नं ३ छोडर गोरखा पुगेका अध्यक्ष प्रचण्डले यतिबेला गोरखासँगको आफ्नो नाता प्रष्ट पार्दै हिँडेका छन् । यसअघि चितवन ३ मा चुनाव लडेका प्रचण्ड गोरखामा उनी पहिलो पटक चुनाव लड्दैछन् । हुन त उनी जुनकुनै निर्वाचन क्षेत्रमा दोहोराएर उम्मेदवार बनेका छैनन् । यसलाई उनले गतिशील नेताको रूपमा लिएका छन् ।

योबिचमा अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक स्थलहरूको पनि अवलोकन गरिरहेका छन् । गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार पुगेर यसको प्रचार–प्रसारमा जोड दिनुपर्ने अध्यक्ष प्रचण्डले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल