
महिला दश हजार मिटर दौडमा सन्तोषीको स्वर्ण
काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला दश हजार मिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
पोखरा रङ्गशालामा आज भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितिन् । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् । त्यतिबेला उनले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।
