पर्खिरहेछन् बाँझा जमिनहरु….!

सुदिप दाहाल – धर्तिको कुनै टुक्रा म । मेरो छातिमाथी खेलिरहको प्रकृतिको सुन्दर समय म खुब याद गर्छु अचेल । शितल बतास मेरो स्पर्श लिएर बहन्थे । चराहरु मेरो आँचलमा रमाउँथे । मेरो हातहरुबाट बग्थे सुन्दर खोलाहरु । बादलका कणहरु मेरो आकर्षणले प्रेम गाँस्न आकासबाट आइपुग्थे । पानीको हर एक बुँदहरु मलाई भिजाउन आतुर हुन्थे । प्रकृतिको हर एक मौसमले मलाई सिँच्ने गर्थ्यो ।

हराभरा मेरा छातिमा उमङ्गका पुतलिहरु रमाउँथे ।मानिसहरु मेरो सेवा गर्थे – असिमित प्रेम बर्षाउँथे । असारे गीत र भाकाहरुमा मेरो खोँचहरु गुनगुनाउथे । प्रकृतिको हर जीव मेरो आश्रयमा श्वास लिन्थे । मेरो अन्नले तिनका सुधा मेटिन्थ्यो । प्रकृतिको उपहार थिएँ म सम्पुर्ण जीवको लागि । यसरी म तृप्त थिएँ ।

तर आज म रित्तो छु । घुलो र हिलोले म घेरिएको छु । मेरो आँचलमा रमाउने चराहरु मेरो शिरमा बिस्ट्याउँछ्न् । मेरो अन्जुलिमा बग्ने खोलाहरु दुषित गन्ध बोकेर मेरो बन्जरतालाई गिज्याउँछन् । बर्षामा झर्ने पानीका बुँदहरुले मलाई हिन भावले हेर्छन् । स्वच्छता र उमङ्ग संगै हरेक सम्भाबनाका चिहानहरु मेरो छातिमा दफन छन् । बिहानिको सुरिलो सङ्गीत चीत्कार बनेर गुन्जिरहन्छन् मेरो कानहरुमा ।

यो सब भएको मानिसहरुको मिथ्या महत्वाकांक्षाले गर्दा हो । मानिसको अहंकार र दम्भले गर्दा हो । मेरा अन्नका दानाले जसको पेट भर्थ्यो आज ऊ बैरी भएको छ मेरो । शितलताको छाहारी बन्ने मेरा आँचलहरुमा आज इट्टा र कक्रीटहरु नाचिरहन्छन् । हो यसरी प्रकृतिको हर मौसम र हरेक जीव आज मेरो लागि श्राप भएको छ ।

जसको श्वास बनेर मेरा बृक्षका अक्सिजन फोक्सोहरुमा प्राण फुक्थे , आज तिनका भुजाहरु मेरो सुन्दरताको शोषण गर्छन् । यस्तो लाग्छ , म यी मानवहरुको नजरमा केबल एक बस्तु हुँ जसको उपभोगपछी कुनै आवश्कता रहन्न । ठिक छ , म एक बस्तु हुँ । म स्विकार्छु मेरो आवश्यकता तिमीलाई नहुन पनि सक्ला अब । तर मानव , यो त पक्कै होइन कि म तिमी बिना अधुरो छु । म त डायनोसर जस्तो भयङ्कर जीवलाई पनि पोषण गर्थें । म पुनस् सम्झिन्छु त्यो क्षण जहाँ डायनोसर केवल एक जीव मात्र थियो मेरो नजरमा ।

समयको चर्खासँगै त्यो दिन पनि आयो जहाँ आजका मान्छे जस्तै अहंकारी भए त्यो भयङ्कर जिवहरु । मान्छेले आज जुन भुमिमा ठड्याएका छन् अहंकारका सहरहरु, त्यही गाडिएका छन् भयङ्कर जिवहरुका अहंकाररुपी अस्थिपन्जरहरु । त्यसैले प्रकृतिको अघि आफ्नो दम्भलाई त्याग मेरा सन्ततिहरु । कति निष्ठुर र कट्टर भएका छौ तिमी । यदि तिमी फाइदाका लागि मात्र काम गर्छौ भने आउ एक सम्झौता गरौं हामी ।

आधुनिक समाजले प्रकृति सहितको आधुनिकता स्विकार्न किन सक्दैन होला रु अचम्म लाग्छ । मान्छे आधुनिक हुनुपर्छ । बिकाससिल हुनुपर्छ । तर मान्छे आधुनिक हुनुको अर्थ यो पक्कै होइन कि प्रकृतिको बिनास आवश्यक छ । आधुनिकता आफुमा मात्र होइन मेरो बाँझो जमिनमा पनि प्रयोग गर । तिमीले रोपेका हर एक बिजलाई गुणात्मक गरेर फिर्ता गर्छु ।

तिमीले दिएको भन्दा अधिक दिनेछु । सुन्दरता केबल भौतिक सुखमा मात्र नखोजी प्रकृतिको चञ्चलतामा पनि खोज । म आजसम्म एक एक सासलाई रोकेर तिम्रो प्राण फुकिरहेछु । अब बिन्ती म तिमीसँगै मेरो प्राण – दानमा मागिरहेछु । मलाई उहीँ हराभरा जिन्दगी देऊ ।

खोँचहरुमा गुन्जिने असारे गीत , पाखाहरुमा दौडिने शितल बतास , शिर झुकाएर निहुरिने पहेला धानका बालाहरु , चरा चुरुङ्गिको मधुर सङ्गित र मेरा हत्केलाबाट बग्ने स्वच्छ निर्मल खोलाहरु । म केबल त्यही अतितको सम्झनामा भबिश्यको कामना गरिरहेको छु । ए निष्ठुर मान्छे , म तिम्रै पर्खाइमा छु … केबल पर्खाइमा..!

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्