काठमाडोँ । सोलुखुम्बु भ्रमणमा आएका एक विदेशी पर्यटक अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट घाइते भएका छन् । घाइते हुनेमा अमेरिकी नागरिक २५ वर्षीया महिला क्याथृङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार असोज २७ गते बिहीवार सोलुदुधकुण्ड नगरपालिका २ को सलुङ जङ्गलमा हिँड्दै गर्दा क्याथृङलाई एक अपरिचित पुरुषले टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएका हुन् ।
प्रहरीका अनुसार सुरुमा ती पुरुषले विदेशीसँग डलर मागेको तर विदेशी महिलाले रकम दिन इन्कार गर्दा एक्कासी टाउकोमा ढुङ्गा प्रहार गरी भागेका थिए । ढुङ्गा प्रहारबाट विदेशी महिलाको टाउकोमा गहिरो चोट लागेको छ ।
उनको टाउकोमा ७ टाँका लगाइएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । एक्लै सोलु भ्रमण आएका अमेरिकी नागरिक उपचारपछि काठमाण्डौ फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटना पश्चात प्रहरी चौकी बेनीबाट खटिएका प्रहरी टोलीले ३५ वर्षीय दावा जाङ्बु शेर्पालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको हिरासतमा रहेका छन् ।
प्रतिक्रिया