काठमाडौँँ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान अगाडि बढाएको छ । गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक नाबालिगमाथि पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेलमा प्रवेश गरेको र भोलिपल्ट बिहान बाहिरिएको सीसीटीभी फुजेट प्रहरीले फेला पारेको छ । राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिन्छ । सन्दीपले आफु निर्दोष रहेको दाबी गर्दै आएका छन् । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । उनलाई परिवारका सदस्यलाई पनि प्रहरीको उपस्थितिमा मात्रै भेट्न दिइएको बताइएको छ ।
सन्दीपले प्रहरीसँगको साबिती बयान उद्धृत गर्दै प्रहरी अधिकारीहरु भन्छन्,“म माथि आरोप लगाउनेसँग होटलमा गएको सँगै बसेको सत्य हो । तर बलात्कार गरेको आरोप झुटो हो । राति बसेर बिहान निस्किएका हौं ।” यसबाहेक सन्दीपले क्रिकेटमै संलग्न व्यक्तिहरुले पनि आफुविरुद्धको योजना बनाएको दाबी गर्दै आएका छन् । उनले आफुमाथि आरोप लगाउनेकै आग्रहमा होटलमा बसेको बताएको पनि एक अधिकारीले दाबी गरे ।
जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । आफूमाथि आरोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए । प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो ।
सन्दीप र उनका कानुन व्यावसायीले योजनाबद्ध तरिकाले फसाइएको जिकिर गर्दै आएका छन् । सन्दीप र उनका कानुन व्यावसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको जिकिरसमेत गरेका छन् । तर नागरिकतालाई नै कानुनले अन्तिम आधार मान्ने सरकारी कानुन व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुुसार नागरिकता प्रमुख नभई अभियोग प्रमुख हो ।
प्रतिक्रिया