काठमाडौँ । चीनको ल्हासामा कोरोना भाइरसको संक्रमण फैलिएसँगै स्थानीय प्रशासनले लकडाउन गर्दा खाद्यान्नसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार स्थानीय अधिकारीहरू नै संक्रमित भइ बिरामी परेपछि आपूर्ति व्यवस्था गम्भीर रूपमा प्रभावित भएको हो। घर बाहिर निस्कन नपाएका स्थानीय बासिन्दालाई खाद्यान्नसहितका सामग्रीको अभाव भएको उल्लेख छ। ८ लाख ६० हजार मानिसको बसोबास रहेको ल्हासामा हालसम्म ५४० जना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै, लक्षणबिहीन अरू धेरै संक्रमित रहेको हुनसक्ने अनुमान छ। तिब्बतको सानो शहर ल्हासालाई कोरोना भाइरसको संक्रमण र त्यसले निम्त्याएको आपूर्ति अव्यवस्थाले गम्भीर रूपमा आघात पारेको उल्लेख छ।
विगत एक महिनादेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिनका लागि ल्हासामा कडा लकडाउन गरिएको छ। गएको अगस्ट ८ मा ल्यासामा स्थानीय रूपमा फैलिएको पहिलो संक्रमण पुष्टि भएको थियो। त्यसयता मानिसहरू घरबाहिर निस्कन पाएका छैनन्।
यस्तै, संक्रमितहरूलाई अस्थायी अस्पताल पठाइएको छ। अनलाइनमा पोस्ट गरिएअनुसार परिवारहरू खाद्यान्नको अभावमा रहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको हो।
प्रतिक्रिया