चालक निदाएका कारण बस दुर्घटना : २२ जना घाइते

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँकेमा यात्रु बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस सोमबार बिहान ३ बजेतिर बाँके चोक नजिकै दुर्घटना परेको हो ।

बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा घाइते भएका यात्रुको लालबन्दीस्थित विभिन्न अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

घाइतेमध्ये बसका सहचालक झापाको मेचीनगर नगरपालिका–७, बस्ने २१ वर्षीय प्रदीप पुरीको अवस्था गम्भीर छ । उनलाई लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापातर्फ नै रेफर गरिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको केशरगञ्जका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए । दुर्घटनापछि बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण बस दुर्घटनामा परेको देखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्