काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा लिभरपुल तगारो बनेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १–० ले पराजित गर्यो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औँ मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे । उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्ट नियन्त्रण लिँदै गोल गरेका थिए ।
रेफ्रीमाथि अभद्र व्यवहार गरेपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले दोस्रो हाफमा रातो कार्डको सामना गरेका थिए । हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अङ्क दूरी घटाउने अवसर गुमायो । लिभरपुल भने लयमा फर्किएको जनाउन सफल भयो ।
१० खेलबाट २३ अङ्क बटुलेको सिटी पहिलो खेलमा हार बेहोर्दै दोस्रो स्थानमा छ । समान खेलबाट शीर्षस्थानको आर्सनलको २७ अङ्क छ । लिभरपुल नौ खेलबाट १३ अङ्क जोड्दै आठौँ स्थानमा छ ।
प्रतिक्रिया