काठमाडौँ । चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरू महिनाअगावै घरदैलोमा व्यस्त छन् । झापामा मुख्य प्रतिस्पर्धा एमाले–राप्रपा तालमेल र सत्ता गठबन्धनबीच नै हो । जिल्लास्तरीयदेखि पार्टीका केन्द्रीय अध्यक्षसम्मका उम्मेदवार छन् । विगतमा ‘हेभीवेट’ लाई चुनाव जित्न सहज थियो । तर योपल्ट अवस्था त्यस्तो छैन ।
प्रतिस्पर्धी दलसँगै उनीहरूलाई स्वतन्त्र उम्मेदवारले पनि टक्कर दिने देखिन्छ । झापा ५ मा एमाले अध्यक्ष केपी ओलीलाई गठबन्धनसँगै स्वतन्त्र उम्मेदवार दीपककुमार (युग) पाठकले पनि चुनौती दिने ठानिएको छ । लेखक एवं सामाजिक अभियन्तासमेत रहेका पाठक ओलीका चर्का आलोचक हुन् ।
पाठक आफू चुनाव जित्नेमा भन्दा ओलीलाई हराउनुपर्छ भन्ने ‘क्याम्पेनिङ’ मा बढी लागेका छन् । जसले गर्दा ओलीलाई चुनाव जित्न थप चुनौती दिएको छ । काठमाडौं बस्ने पाठक ओलीविरुद्ध चुनाव लड्नकै लागि महिना दिनअघि नै दमक झरेका हुन् । एमाले अध्यक्षप्रति उनको आरोप छ, ‘ओलीका कारण राजनीतिमा युवापुस्ताको वितृष्णा बढेको छ, ओली खराब राजनीति गर्छन्, त्यसैले उनको राजनीतिमाथि हस्तक्षेप गर्न मैले उम्मेदवारी दिएको हुँ ।’
ओली सातौं पटक चुनावी मैदानमा छन् । ०६४ बाहेक पहिलो पटक एमालेका लागि झापा ५ केही कमजोर देखिन्छ । चार पालिका रहेको उक्त क्षेत्रमा एउटामा मात्र एमालेको नेतृत्व छ । ०७४ मा वाम गठबन्धनसँगै राप्रपाको समेत शतप्रतिशत मत पाएका ओलीलाई योपल्ट राप्रपाको मात्र सहयोग छ । छ महिनाअघिको स्थानीय तह निर्वाचनको नतिजाका कारण पनि मंसिर ४ मा ओलीलाई राप्रपाबाट शतप्रतिशत मत पाउनेमा संशय छ ।
प्रतिक्रिया