
हिमाली पदयात्रामा महिलाको सहभागिता बढ्दै
काठमाण्डौ । शरद् ऋतुको आगमनसँगै रसुवाको हिमाली पद यात्रामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ ।
पदयात्राको क्रममा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकको रूपमा महिलाको समेत सहभागिता बढ्न थालेको लाङटाङ राष्ट्रिय निकुञ्जको अध्यावधिक अभिलेखले बताएको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असोज ३० गतेसम्म आन्तरिक एवं बाह्यरूपले आवागमन भएका १३ हजार ८४ पर्यटकमध्ये दुई हजार आठ सय छयालीस जना महिला रहेको निकुञ्जले जनाएको छ ।
हिमाली पदयात्राको लागि सुन्दरीजलबाट आउने हेलम्बुतर्फ एउटा र धुञ्चे, चन्दनबारीतर्फको अर्को यी दुई पदमार्गबाट पर्यटक गोसाइँकुण्ड पुग्ने र चोलाङपार्टीबाट ठूलोस्याफ्रु हुँदै लाङटाङ्को क्याङ्जेन पुग्ने गरेका छन् । हिमाली प्रकृति छटाको रसास्वाधन लिन यही आर्थिक वर्षको साउनदेखि यही असोज २९ गतेसम्म ११ हजार सात सय ५८ नेपाली र एक हजार तीन सय २६ विदेशी पर्यटक निकुञ्जभित्र प्रवेश गरेका थिए ।
