
निःशुल्क वाइफाईदेखि फ्लाइओभर बनाउने कांग्रेस नेता सिंहको प्रतिबद्धता
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं। १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
प्रतिबद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निशुल्क वाइफाई जोनदेखि फ्लाइओभर र अण्डरपासम्म निर्माण गर्ने उल्लेख गरेका छन् ।
‘निर्वाचन क्षेत्रबासीलाई डिजिटल प्रविधिसँग जोडिन निशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निशुल्क वाइफाई जोनको व्यवस्था गर्ने,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य सडकमा सम्भाव्यता अध्ययन गरी फ्लाइओभर वा अण्डरपास बनाउने ।’
युवालाई सिप तथा दक्षता अभिवृद्धि तालिममार्फत स्वदेशमै क्षमताअनुसारको रोजगारी सुनिश्चितता गर्ने प्रतिबद्धता पनि सिंहले जनाएका छन् । उनले निर्वाचन क्षेत्रलाई शून्य फोहोर मैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने समेत उल्लेख गरेका छन् ।
