+
Search

ताजा अपडेट +

पपुलर +

धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवारी दिनुपर्‍यो : प्रवक्ता महत

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको बताए ।

गठबन्धन हुँदा कतिपय योग्य साथीहरू टिकटबाट वञ्चित हुनुभयो । तर लोकतान्त्र संस्थागत गर्न र संविधान बचाउन तथा त्यसको कार्यान्वयन गराउन हामी लागिपरेका छौँ, " उनले भने, "यसमा पार्टी र गठबन्धनका सबै नेताहरूको साथ सहयोग हुने आशा छ ।"

सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले बागी उम्मेदवारहरुलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न आग्रह गरे । " बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पारेर आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्न समय दिइएको छ । अब धेरै पर्खन र कुर्न सकिँदैन । साथीहरूले पार्टीको नीति मान्नुहुनेछ भन्ने लाग्छ, " उनले भने ।

प्रवक्ता महतले गठबन्धनले मुलुकलाई ठुलो दुर्घटना हुनबाट जोगाएर संविधान र व्यवस्थामाथिको जोखिमलाई ट्र्य्राकमा ल्याएको दाबी गरे । उनले कांग्रेसले अन्य दलहरुले जस्तो धेरै बोल्ने, तर काम नगर्ने चरित्र नअपनाएको भन्दै कांग्रेस नेतृत्वको गठबन्धनलाई जनताले आफ्नो विश्वासको मत दिनेमा ढुक्क रहेको बताए ।

उनले वर्तमान सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुने अवस्था सिर्जना गरेको दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा