काठमाडोँ । मध्यक्रमका ब्याटर सिकन्दर राजाको उत्कृष्ट ब्याटिङमा जिम्बावेले आइसिसी टि०२० विश्वकपमा आयरल्यान्डलाई १ सय ७५ रनको बलियो लक्ष्य दिएको छ ।
होबार्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । जिम्बावेका सिकन्दर राजाले ४८ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रनको योगदान दिए । अन्य ब्याटर सस्तैमा आउट भए पनि राजाले सानदार ब्याटिङका साथ बलियो योगफलमा पुर्याएका हुन् ।
ओपनर रेजिस चकभा शून्य र क्रेग इर्विन ९ रनमा आउट भए । विस्ली मेधेर्वेले १९ बलमा ४ चौकासहित २२ रन बनाए । सेन विलियम्स ११ बलमा १ छक्कासहित १२ रनमा आउट भए । मिल्टन सुब्बा १६ र रयान बर्ल एक रनमा आउट भए ।
आयरल्यान्डका तीव्र गतिका बलर जोशुवा लिटिलले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । मार्क आदिरले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सिमी सिंहले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।
जिम्बावे पहिलो चरणको समूह बी मा छ । समूह बी मा स्कटल्यान्ड, आयरल्यान्ड, जिम्बावे र वेस्टइन्डिज छन् । समूह ए मा नेदरल्यान्ड्स, नामिबिया, युएई र श्रीलंका छन् । पहिलो दिन श्रीलंका नामिबियासँग ५५ रनले स्तब्ध भएको थियो । त्यस्तै दोस्रो दिन वेस्टइन्डिजलाई स्कटल्यान्डले ४२ रनले पराजित गरेको छ ।
प्रतिक्रिया