काठमाडौँ । राप्रपा नेपालका ५ पदाधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । केही पहिलामात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् । चुनावको समयमा राप्रपाका पाँच पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राप्रपाका सहमहामन्त्री बस्नेतले आफूहरुले अध्यक्ष प्रचण्डलाई भेटेको पुष्टि गरे । खुलमटारबाटै बोलावट भएपछि राजनीतिक भेटवार्ता र तिहारको शुभकामना आदानप्रदानका लागि आफूसहित उपाध्यक्ष तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार गएको उनको भनाइ छ ।
सो क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्ड राष्ट्रिय नेता भएको उल्लेख गर्दै आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । यस्तै उनीहरुले प्रचण्ड, माओवादी र सत्ता गठबन्धनको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका थिए ।
‘हाम्रो क्षेत्रबाट राजनीतिक रुपले सहयोग हुने कुरा हामीले राख्यौँ’, अर्का एक पदाधिकारीले रातोपाटीसँग भने, ‘दीपावलीको शुभकामना आदान प्रदान भयो । सो क्रममा प्रचण्डले संक्षिप्तमा आफ्नो भनाइ पनि राख्नु भयो । उहाँको कुराले हामी प्रभावित भइयो ।’
प्रचण्डले राप्रपाका नेताहरुसँगको भेटमा गोरखाको गरिमा उचो राख्नका लागि आफू त्यहाँबाट चुनाव लड्न लागेको जानकारी दिएका थिए । उनले राप्रपा नेपालसँग केही एजेण्डाहरु नमिले पनि राष्ट्र विकास गर्नुपर्छ, राष्ट्र दीगो हुनुपर्छ भन्नेमा दुबै पार्टीको भावना मिल्ने बताएका थिए ।
प्रतिक्रिया