
बैंकको ब्याजदर नघटे विस्थापितमात्रै होइन, देश आत्मनिर्भरबाट हट्छ
चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् ।
आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्कोतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् । सुलभ मूल्यमा पाइने प्रोटिनको राम्रो स्रोत अण्डाका बारेमा जनचेतना जागृत गराउन नसक्दा उपभोग बढ्न सकेको छैन । अण्डा बजारका यावत समस्या समाधान गर्न ठूला व्यवसायीले समिति नै निर्माण गरेर काम सुरु गरेका हन् । उनीहरूले ३० हजारभन्दा बढी अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालक फार्म सङ्गठित भएर ‘नेपाल लेयर्स कुखुरापालक संघ’ गठन गरेका हुन् ।
लेयर्स कुखुराका लागि आवश्यक पर्ने दानाको मूल्य अत्यधिक वृद्धि, बैंकको ब्याजदर वृद्धि र लागत मूल्य नपाउँदा अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । कतिपयको बैंकमा ब्याज तिर्न नसक्दा सम्पत्ति लिलामीको चरणमा समेत पुगेको छ । नवगठित संघका अध्यक्ष विनोद पोखरेल अस्थिर बजारका कारण अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुगेको जानकारी दिए । नवलपरासीमा चार लाख लेयर्स कुखुरा पाल्दै आएका दाउन्ने कर्पोरेशनका कार्यकारी निर्देशकसमेत रहेका उनले समयमै ध्यान दिन नसकेमा नेपाल पोल्ट्रीमा आत्मनिर्भरबाट परनिर्भर हुनुपर्ने अवस्था आउने बताए ।
दैनिक दुई लाख ३१ हजार अण्डा उत्पादन र एक लाख ३० हजार सङ्कलन गरेर बजार पठाउँदै आएको जनाउँदै उनले अहिलेको लागत मूल्यमा अण्डा बिक्री गर्न नपाउँदा दैनिक नोक्सान व्यहोर्नुपरेको बताए । संघले छरिएर रहेका व्यवसायीलाई सङ्गठित गरेर मूल्यमा एकरुपता ल्याउने, बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने, दानाको मूल्य घटाउन सरकारसँग पहल गर्ने र अण्डाको खपत बढाउने कुरामा लाग्ने उनको भनाइ छ ।
