+
Search

ताजा अपडेट +

पपुलर +

बाध्यताले एउटै कोठामा बसियो, जबरजस्ती गरेको छैन: सन्दीप लामिछाने

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग सरकारी वकिलको कार्यालयले लिएको बयान सकिएको छ । सन्दीपले आफू काठमाडौंको होटलमा पीडित भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् ।

तर, बलात्कार भने नगरेको बयान उनले दिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए । ‘उहाँ (सन्दीप) ले आफू होटलमा गएको कुरा स्वीकार्नुभएको छ, तर बलात्कार भने नगरेको उहाँको जिकिर छ,’ ती अधिकारीले भने, ‘उहाँ होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरको छ ।’

उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् । उनले घुम्न जाने र बस्ने सबै कुरा पीडित किशोरीको सहमतिमा भएको बयान दिएका छन् । सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् ।

सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसीटीभी फूटेज देखाएको थियो । फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो ।

‘सीसीभीटी फूटेजमा आफू भएको कुरा उनले स्वीकारेका छन्,’ स्रोतले लोकान्तरसँग भन्यो । सन्दीपका अधिवक्ताहरूले पीडित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

सन्दीपको पक्षबाट वकालत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ । उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको ती अधिवक्ताले लोकान्तरलाई बताए । ‘हामीले पीडित भनिएकी युवती बालिका नभएको पुष्टि हुने २ वटा प्रमाण फेला परेका छौं,’ ती अधिवक्ताले लोकान्तरसँग भने, ‘उनको जन्मदर्ता २ वर्ष घटाएर बनाएको देखिएको छ ।’

ती अधिवक्ताका अनुसार पीडित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको वकिलहरूले बताएका छन्। २३ गते म्याद थप भएपछि अदालतबाट बाहिर निस्कने क्रममा सन्दीप लामिछानेकी अधिवक्ता सुधा रिमालले आफूहरूसँग पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण रहेको दाबी गरेकी थिइन् ।

प्रहरीले सन्दीप लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि असोज २७ गते जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । पहिलोपटक असोज २० गतेबाट लागू हुने गरी ७ दिनको म्याद सकिएपछि २७ गते अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको थियो ।

भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप सन्दीपमाथि छ । ती किशोरीले साउन २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । भदौ ६ गते बिहान होटलबाट निस्किएका सन्दीप ७ गते क्रिकेट खेल्न राष्ट्रिय टीमसँगै केन्या गएका थिए ।

केन्यामा खेल सकिएपछि उनी क्यारेबीयन लीग खेल्न वेस्ट इन्डिज गएका थिए । उनी त्यहाँबाट क्यारेबीयन लीग नखेली फर्किएका थिए । लामो समयसम्म सन्दीप नेपाल नआएपछि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो । त्यसपछि नेपाल आएका सन्दीपलाई प्रहरीले गत बिहीवार ९असोज २० गते० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा