
टी–२० विश्वकपः नेदरल्याण्ड्सको लगातार दोस्रो जित
काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा नेदरल्याड्सले लगातार दोस्रो जित हात पारेको छ । उसले पहिलो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नामिबियालाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । १२२ रनको लक्ष्य नेदरल्याड्सले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि विक्रमजित सिंहले सर्वाधिक ३९ रनको योगदान दिए ।
म्याक ओडोउड ३५ र बास डी लिडेले अविजित ३० रन जोडे । नामिबियाका लागि जजे स्मिथले २ तथा बेर्नार्ड स्कोल्ट्ज र जान फ्राइलिंकले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । त्यसअघि भिक्टोरियास्थित साइमन्ड्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन बनाएको थियो ।
उसका लागि जान फ्राइलिंकले सर्वाधिक ४३ रनको योगदान दिए । माइकल भान लिन्गेनले २०, स्टेफन बार्डले १९, कप्तान गेर्हार्ड इरास्मसले १६ र डेविड विसेले अविजित ११ रन जोडे । नेदरल्याण्ड्सका लागि बास डि लिडेले २ तथा टीम प्रिन्गल, कोलिन अकरम्यान, टिम भान मेक्रेन र रोइलोफ भान डेर मेर्वेले १–१ विकेट हात पार्द एक विकेट रन आउटका रुपमा प्राप्त भयो । यो जितसँगै २ खेलमा ४ अंक जोडेको नेदरल्यणड्स शीर्ष स्थानमा रहँदा पहिलो पराजय बेहोरेको नामिबिया समान खेलबाट २ अंकका साथ दोस्रो स्थानमा छ ।
