+
Search

ताजा अपडेट +

पपुलर +

जेरुसा भेटिइनन् , भेटियो सुसाइड नोट

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौं । गत असोज ६ गते साँझ साढे ७ बजेदेखि गायिका जेरुसा राई बेपत्ता भइन्। कसैलाई केही नभनी ललितपुरको धोबिघाटस्थित घरबाट उनी साँझ बाहिरिएकी थिइन्। राति अबेरसम्म पनि उनी घर फर्किनन्।

गुहँ गोरो, कालो कपाल भएको, ५ फिट ३ इन्च उचाई, कालो हाफ बाहुलाको सर्ट र कालो पाइन्ट लगाएकी जेरुसा घरबाट बेपत्ता भएपछि आमा इश्का घिमिरेले खोजी गरिदिन भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। गायिका जेरुसा बेपत्ता भएको जानकारी आएपछि जिल्ला प्रहरी परिसरले उनको खोजी कार्य सुरु गरेको थियो। अहिले पनि खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

तर, गायिका जेरुसाको खोजीमा जुटेको एक महिना बित्न लाग्दा समेत उनको बारेमा अहिलेसम्म कुनै तथ्य प्रहरीले फेला पार्न सकेको छैन। परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेललेभने, ‘हराएको भनिएको राति ८ बजेसम्म बागमती नदी छेउसम्म उनी पुगेको देखिन्छ। त्यसपछिको अवस्थाबारे अहिलेसम्म केही पत्ता लगाउन सकिएको छैन।’

कोठामै मोबाइल छाडेर गएकी जेरुसाको अवस्था अहिलेसम्म अज्ञात छ। मोबाइल नै नबोकेकाले पनि खोजीमा समस्या भएको एसएसपी पोखरेलले बताए।३१ वर्षीया गायिका जेरुसा गत असार २७ गते अमेरिकाबाट नेपाल आएकी थिइन्। उनी धोबिघाटमा आमासँग बस्दै आएकी थिइन्। एकाएक घरबाट वेपत्ता भएको सूचना आएपछि अनुसन्धानमा जुटेको प्रहरीले उनको कोठाबाट ‘सुसाइड नोट’ समेत भेटेको थियो।

सुसाइड नोटमा ‘बाबुआमालाई धन्यवाद’ भन्दै आफू बिदाई हुने संकेत गरिएको पाइएको प्रहरी स्रोतले जनाएको छ। सुसाइड नोटको पुछारमा बागमती खोला भनेर लेखिएको समेत भेटिएको छ। ‘पुछारमा बागमती खोला भनेर लेखिएको छ। अरु केही पनि लेखिएको छैन’ प्रहरी स्रोतले भन्यो।

सुसाइड नोटमा किन बागमती खोला लेखियो भन्नेबारे प्रहरीले अनुसन्धान गरेको थियो। सो क्रममा नयाँ तथ्य भेटिएको छ। बागमती खोला लेखेको सुसाइड नोट भेटिएपछि प्रहरीले गायिका जेरुसाको मोबाइल तथा प्याडहरु समेत अनुसन्धान गरेको थियो। सो क्रममा मोबाइल तथा प्याडमा ‘कसरी पानीमा डुबेर मर्न सकिन्छ ? ’ लेखेर सर्च गरेको पाइएको छ।

ललितपुर प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘गायिकाको मोबाइल तथा अन्य डिभाइसको हिस्ट्री हेर्दा उनले कसरी पानीमा डुबेर मर्न सकिन्छ भनेर सर्च गरेर हेर्ने गरेको पाइयो।’

सुसाइड नोटमा बागमती खोला लेख्नु, कसरी डुबेर मर्न सकिन्छ भनेर गुगल तथा युट्युबमा खोज्नु र बागमती नदी किनारसम्म जेरुसा गएको देखिनुले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरी विश्लषण छ।

प्रतिक्रिया

लेखकको बारेमा