काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँको थायमदु बांगेमुढा स्थित पुरातात्विक सामुदायिक भवन (त्वास् छेँ) नभत्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश रमेश ढकालको एकल इजलासले सोमबार उक्त भवन नभत्काउन काठमाडौँ महानगरपालिकालाई निर्देशन दिएको हो । त्वाँ छे समितिले बिहीबार सरट दायर गरेको थियो ।
स्थानीयले सामुदायिक काममा प्रयोग गर्ने उद्देश्यले आफ्नै श्रोतबाट ४४ वर्षअघि उक्त भवन बनाएका थिए । महानगर प्रमुख बालेन्द साह (बालेन) को प्रत्यक्ष निर्देशनमा उक्त भवन भत्काएर वडा कार्यालय बनाउन भन्दै डोजर चलाइएको थियो ।
अदालतले रिटको अन्तिम टुंगो नलागेसम्म सामुदायिक भवन भत्काउने वा त्यसमा भौतिक क्षति पुग्ने कुनै काम नगर्न भनेको छ । उक्त भपन भएको जग्गाको सार्वजनिक प्रयोजन र उपयोग सुनिश्चित गर्ने जिम्मेवारी र कर्तव्य महानगरपालिकाबाट सम्पादन हुनुपर्ने अदालतको आदेशमा छ । ‘सार्वजनिक जग्गाको स्वामित्वकर्ताका रूपमा कुनै व्यक्ति विशेष, सरकार वा सार्वजनिक संस्था पनि हुन सक्दैन,’ आदेशमा भनिएको छ ।
सार्वजनिक जग्गालाई राज्यशक्ति प्रयोग गर्ने संघ, प्रदेश वा स्थानीय तहले समेत सरकारी वा आफ्नो मातहतको जग्गा जसरी आफूखुसी प्रयोग गर्न नपाउने संवैधानिक र कानुनी व्यवस्था रहेको आदेशमा उल्लेख छ ।
प्रतिक्रिया