
केपी ओलीलाई आफूसँग डिबेट गर्न प्रतिस्पर्धी डा. अधिकारीको चुनौती
काठमाडौँ । नेपाली कांग्रेसबाट झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. खगेन्द्र पाण्डब अधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूसँग ‘डिबेट’ गर्न चुनौती दिएका छन् ।
उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमार्फत आफू ओलीसँग जुनसुकै विषयमा डिबेट गर्न तयार भएको उल्लेख गरेका छन् । एमाले अध्यक्ष ओली र आफू यसै क्षेत्रका प्रतिष्पर्धी उम्मेदवार भएकाले क्षेत्रका समस्या, एजेण्डाका विषयमा डिबेट गर्न तयार भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘ओलीजी, किन टाढाका ब्यस्त नेतासँग अनलाइनमा दोहोरी खेलेर समय बर्वाद गर्न चाहनुहुन्छ कुन विषयमा, कति समय डिबेट गर्ने हो र ? आउनुस् ,जुममा होइन लाइभ मै दमकमै बसेर आमने सामने टेबल टक गरौँ । म टेबलटक मात्रै हैन निर्वाचनमा टक्कर गर्न र यसपटक तपाईलाई परास्त गर्न तपाईकै क्षेत्रमा खडा भएको छु ।’
ओलीले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू डिबेट गर्न चुनौती दिएसँगै डा. अधिकारीले त्यसको जवाफ दिदै थप चुनौती दिएका हुन् ।
