+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले छकाए भन्दै छिमी माओवादीमा फर्कीय

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौँ । नेकपा एमाले हुम्लाका नेता छिमी दोर्जे लामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । टिकटको आशमा हालै माओवादी छाडी एमाले रोजेका छिमी अर्का नवप्रवेशी छक्कबहादुर लामाले छकाएपछि निरास हुँदै पुरानै घर फर्किएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगेर माओवादीमा फर्किंदै उनले एमालेका अरु थुप्रैलाई पनि घर फर्काउने बाचा गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नीति,विचार र सिद्धान्तमा बिमति राखेर नभई व्यवस्थापनमा भएका कमजोरीका कारण माओवादी छाड्ने क्रम बढेको भनी त्यसलाई सच्याउन नेतृत्वलाई सुझावसमेत दिए । अध्यक्ष प्रचण्डले छिमी माओवादीमा फर्किएपछि हुम्लामा एमाले हार्ने निश्चित भएकाले अब पार्टीका उम्मेदवार कार्चेन लामालाई विजयी गराउन आग्रह गर्नुभयो । पार्टीमा फर्किएसँगै छिमी पुरानै जिम्मेवारी केन्द्रीय सदस्यमा पुनर्स्थापित भएको पनि प्रचण्डले जानकारी दिनुभयो ।

हुम्लामा पार्टीभन्दा पनि चुनावमा व्यक्तिको प्रभाव बढी हुने भएकाले निर्वाचनको मुखमा जहिल्यै दल फेर्नेहरुको लाइन लाग्ने गर्छ । अघिल्लो पटक व्यक्तिगत प्रभावकै कारण स्वतन्त्र उम्मेदवार छक्कले माओवादीका छिमीलाई हराएका थिए ।

वाम गठबन्धनका साझा उम्मेदवार छिमीलाई स्वतन्त्र उठेका छक्कले पराजित गरे र, माओवादीमै फर्किए । आफूविरुद्ध उम्मेदवारी दिएर चुनाव जितेका छक्कलाई माओवादीले केन्द्रीय सदस्य बनाएपछि रिसाएका छिमी भने एमालेतिर लागे ।

यसचोटी माओवादीबाट टिकट नपाउने भएपछि छक्क छिमीकै पार्टी एमालेमा पुगे । जसका कारण छिमीको टिकट फुत्कियो । त्यता पनि छक्क ‘भिलेन’ बनेर आएपछि बिरक्तिएका उनी आज माओवादीमै फर्केका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा