काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन्। झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए ।
ओलीले भने, ‘राप्रपा कतैबाट परिचालित छैन। अहिले जतिसम्म गरेको छ आफ्नै प्रयासले गरेको छ। त्यसैले राप्रपालाई सहयोग गरेका हौँ। एमालेसँगको सहकार्य भएपछि अब राप्रपा राष्ट्रिय पार्टी हुन्छ।’
एमाले अध्यक्ष ओलीले चुनावको मुखमा फ्रि - भिसा र फ्रि- टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताए। उनले बारामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाए।
बारा- ४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने माग गरे। निर्वाचनलाई केन्द्रमा राखेर एमालेले राप्रपासँग गरेको तालमेलपछि पहिलो पटक एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एउटै मञ्चबाट झापाका मतदातालाई रिझाउने प्रयास गरे।
तालमेलका बारेमा बुझाउन भन्दै आयोजना गरिएको एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलामा ओलीले सत्ता गठबन्धनका दलसँग निकै आक्रोस पोखे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिए। ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ। अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उनले भने।
प्रतिक्रिया