काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा बुधबार सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ।
प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजित गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब विजयी भएको हो।पहिलो र दोस्रो सेटमा २५–१९ र ३०–२८ को जित निकालेर खेलमा पुलिसलाई दबाबमा राखेको एपिएफले तेस्रो सेटमा २६ का सामु २४ नम्बर ल्याएर पराजित हुन पुगेको थियो।
चौथो सेटमा प्रहरीमाथि २५–१९ को जित निकाल्दै एपिएफले राष्ट्रिय महिला भलिबलमा विजयी हासिल गरेको हो। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एपिएफकी खेलाडी निरुता ठगुन्ना प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्। प्रतियोगिताअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशलाई १ का विरुद्ध तीन सेटमा पराजित गर्दै बागमती प्रदेशले जित हात पारेको थियो। प्रतियोगितामा विजयी हुँदै स्वर्णपदक विजेता एपिएफका खेलाडीहरूलाई जनही नगद रु १५ हजारको साथमा पदक र प्रमाणपत्रद्वारा पुरस्कत गरिएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँलगायतले विजेता, उपविजेता र तेस्रो स्थानमा रहँदै स्वर्ण, कास्य र रजत पदक विजेता टिमका खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन्।
गत असोज २७ गतेदेखि बेनीमा सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिमले सहभागिता जनाएका थिए।
प्रतिक्रिया