+
Search

ताजा अपडेट +

पपुलर +

कहिलेकाहीँ कांग्रेस ३ वटा पार्टीजस्तो लाग्छ : नारायणकाजी श्रेष्ठ

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन चार वटा पार्टीको भए पनि नेपाली कांग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गर्नुभएको छ । आज बुधवार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाण्डौमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

कांग्रेसभित्र शेरबहादुर देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । गठबन्धनको सीमा र जटिलता रहेको भन्दै उहाँले गठबन्धनभित्र विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नमिलेको स्पष्ट पार्नुभयो । यद्यपि सिट बाँडफाँटमा सहमति जुटेर चुनावी मोर्चामा जानु सुखद भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो गठबन्धनको आफ्नै सीमा र जटिलता छन् । कसले बुझेको छैन र ? संविधान विरोधी प्रतिगामी कदमलाई असफल पार्न जम्मा भएका शक्तिहरू अहिलेको परिस्थितिको कारणले संविधान र लोकतन्त्रको रक्षाको आवश्यकता महशुस भएर एकताबद्ध भएर जानुपरेको स्थिति छ । त्यही गठबन्धन अहिले पनि चुनावमा जाँदैछ । कहिलेकाहीँ यो गठबन्धन चार वटा पार्टी होइन, छ वटा पार्टीको जस्तो लाग्छ । कहिलेकाहीँ कांग्रेस एउटा नभइ तीन वटा पार्टी लाग्छ । शेरबहादुरजी कहिलेकाहीँ मैले भनेर हुन्न रामचन्द्रजीलाई भन्नुपर्छ, शेखर र गगनलाई भन्नुपर्छ भन्नुहुन्छ । एउटा पार्टीसँग कुरा गरेर धर छैन कांग्रेसलाई ।’

कार्यक्रममा बोल्दै श्रेष्ठले आउँदो मङ्सिर ४ गते हुने चुनावमा सम्पूर्ण पार्टी पङ्क्ति र गठबन्धन एकताबद्ध भएर जानुपर्ने बताउनुभयो । गठबन्धनलाई जिताउन सक्रियतापूर्वक लाग्न उहाँले नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा