काठमाडौँ । आगामी मंसिर–४ गते हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनमा गुल्मीबाट प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दैछिन् । गुल्मीको क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको तर्फबाट प्रतिस्पर्धा गर्न लागेकी हुन् । चार प्रदेश एवम् दुई प्रतिनिसभा सदस्यको लागि गुल्मीमा कुल ६२ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रतिनिधिसभामा चार महिलाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये पनि गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यसका आधारमा झाँक्री नै प्रत्यक्षतर्फकी शसक्त महिला उम्मेदवार हुन् ।
गुल्मीको मदाने गाउँपालिका –४ म्यालपोखरीमा २०३४ सालमा जन्मिएकी झाँक्री ०७४ मा एमालेबाट समानुपातिक सासंद भइन् । त्यसपछि ०७७ पौष ५ गते भएको संसद विघटनसँगै बनेको एकीकृत समाजवादीको केन्द्रीय सचिवको जिम्मेवारी सम्हालिन् । अहिले पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा गुल्मी क्षेत्र नम्बर २ मा चुनावी प्रचारमा छिन् । अहिलेसम्म झाँक्रीले धुर्कोट गाउँपालिकाका नयाँगाउँ, पिपलधारा, हाडहाडे, मालिका गाउँपालिकाको अर्खबाङ्ग, मदाने गाउँपालिकाको पुर्कोट दह, म्यालपोखरी लगायतका ठाउँमा घरदैलो एवम् टोलभेला गरिसकेकी छिन् । झाँक्री भने यो निर्वाचनलाई समाजको सकारात्मक रुपान्तरण गर्ने एउटा अवसर भएको बताउछिन् । ‘प्रतिगमनलाई परास्त गरी समाजको सकारात्मक रुपान्तरणका लागि गठबन्धनबाट मेरो उम्मेदवारी हो ।’ उम्मेदवार झाँक्रीले भनिन्, ‘निर्वाचनपछि समग्र महिलाहरुको उन्नती मेरो प्राथमिकता रहन्छ ।’ सासंदले कानुन बनाउने मुख्य काम भएकोले महिलाहरुले अर्थोपार्जन गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका कामलाई प्राथमिकता दिनेगरी कानुन निर्माण गर्नमा पहल गर्ने झाँक्रीको भनाई छ ।
जिल्लाको कुल मतदातामध्ये महिला मतदाता बढी छन् । आगामी मंसिर –४ गते हुन लागेको निर्वाचनमा गुल्मीमा कुल दुई लाख २३ हजार ६१५ मतदाता छन् । त्यसमध्ये एक लाख १३ हजार २९८ महिला र एक लाख १० हजार ३१५ पुरुष मतदाता छन् । तेस्रो लिङ्गिका दुईजना रहेका छन् । यसरी तुलना गर्दा महिला मतदाताको सङ्ख्या ५०.६६ प्रतिशत रहेका छन् ।
जिल्लामा राजनीतिक दलहरुले तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गर्दा समेत महिला पछाडी परेका थिए । ०७४ को स्थानीय तहको निर्वाचनमा धुर्कोट गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रको तालमेल हुँदा अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष चुनिए । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि तालमेलबाट मालिका र चन्द्रकोटमा अध्यक्ष र उपाध्यक्ष दुवैमा पुरुष नै चुनिए । गठबन्धनको तालमेलमा मुसिकोट नगरपालिकामा महिलाले मेयर र उप–मेयरमा टिकट समेत पाएनन् । संघ र प्रदेशका विगतका निर्वाचनमा मुख्य दलहरुले पुरुषलाई उम्मेदवार बनाउँदै आएका थिए । ०६४ सालमा संविधान सभा सदस्यको लागि तत्कालिन क्षेत्र नम्बर १ मा काँग्रेसबाट सुवर्ण ज्वारचन एवम् ०७० सालमा सोही क्षेत्रमा एमालेबाट मैना भण्डारी प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका थिए । यद्यपी दुवैजना पराजित भएका थिए । काँग्रेस, एमाले, माओवादी लगायतका राजनीतिक दलहरुले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा सहभागि हुने अवसर दिएका थिएनन् ।
प्रतिक्रिया