काठमाडौँ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्का सुपर–१२ मा प्रवेश गरेको छ । आज बिहीवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदै श्रीलङ्का समूह 'ए' बाट सुपर–१२ मा पुगेको हो ।
साइमन्ड्स स्टेडियम जिलोङमा भएको खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायो । श्रीलङ्काले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर एक सय ४६ रनमात्रै बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले तीन र महेश थिकशनाले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६२ रन बनायो । उसका कुसल मेन्डिसले ७९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका भान मिकरेन र बास दी लीडेले दुई–दुई विकेट लिए ।
समूह चरणको पहिलो खेलमै नामिबियासँग हारेको श्रीलङ्काले बाँकी दुई खेलमा जित निकाल्दै सुपर–१२ मा पुग्ने पहिलो टोली बनेको छ । यस्तै यही समूहबाट सुपर–१२ जाने अर्को टोलीको टुङ्गो आजकै दोस्रो खेलमा लाग्नेछ । नेदरल्यान्ड्स सुपर–१२ मा पुग्न यूएई र नामिबियाबीचको खेलमा निर्भर पर्नेछ । त्यो खेल नामिबियाले जितेमा नेदरल्यान्ड्स नेट रनरेटको कारण बाहिरने छ । नामिबियाले हारेमा भने नेदरल्यान्ड्स सुपर–१२ मा पुग्नेछ ।
यस्तै समूह 'बी' बाट सुपर–१२ मा जाने टोलीको टुङ्गो भोलि शुक्रवारको खेलले निर्धारण गर्नेछ ।
प्रतिक्रिया