काठमाडौँ । फ्रेन्च क्लब पिएसजीका सुपरस्टार लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाडेपछि क्लबको लिग फुटबलमा पहिलोपटक प्लेयर अफ् द मन्थुको अवार्ड जितेका छन् । पेरिस क्लबमा दोस्रो सिजन बिताइरहेका मेस्सीलाई फ्रान्सको घरेलु लिग—१ ले पहिलोपटक महिनाकै सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । बिहीबार लिग—१ ले ३५ वर्षका अर्जेन्टिनी खेलाडीलाई सेप्टेम्बर महिनाका लागि सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो ।
गत सिजन घरेलु लिगमा सिजनभरमा जम्मा ६ गोल गरेका मेस्सीले यो सिजन सुरुआतबाटै उत्कृष्ट सुरुआत गरेका छन् । उनले सेप्टेम्बर महिनामा लिग —१ मा जम्मा ४ खेल खेलेका थिए । त्यस क्रममा उनले १ गोल गर्दै ५ गोलमा असिस्ट प्रदान गरेका थिए । उनले ४ खेलबाट सोझै ६ गोलमा योगदान दिएका थिए । यो अन्य कुनै पनि खेलाडीको भन्दा व्यक्तिगत रूपमा उत्कृष्ट तथ्यांक हो । सिजनको सुरुआतमा मेस्सीले च्याम्पियन्स लिगभन्दा लिग—१ मा उत्कृष्ट सुरुआत गरेका छन् ।
यो सिजन मेस्सीले पिएसजीका लागि लिग—१ र च्याम्पियन्स लिग गरी जम्मा १३ खेलबाट ७ गोल गर्दै ७ गोलमा असिस्ट पनि गरेका छन् । उनले मात्रै ७ खेलबाट १४ गोलमा सोझै योगदान दिएका छन् । पिएसजीले आज राति लिग—१ मा अजासियोविरुद्ध खेल्दै छ । उक्त खेलअघि मेस्सीलाई प्लेयर अफ् द मन्थको अवार्ड प्रदान गरिनेछ ।
प्रतिक्रिया