+
Search

ताजा अपडेट +

पपुलर +

बिश्व सुन्दरी क्यारोलिनाको नेपाल घुम्ने चाहाना

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौँ । सन् २०२२ की विश्व सुन्दरी क्यारोलिना बिलवस्काले नेपाल घुम्ने प्रतिज्ञा गरेकी छन् । क्यारोलिनाले नेपालको प्राकृतिक सौन्दर्यबारे धेरै सुनेकाले आफू एकपटक जसरी पनि नेपाल जाने बताइन् ।

‘मलाई नेपालबारे धेरै जानकारी छ । मिस वर्ल्ड नेपालले प्रतियोगिताका बेला प्रस्तुत गरेको वृत्तचित्र र उनको प्रस्तुति मलाई निकै राम्रो लागेको थियो’, लन्डनस्थित डोरचेष्टर होटलमा आयोजित ‘दिगो विकासका लागि विश्वव्यापी लगानी’ सम्मेलनका क्रममा विश्व सुन्दरीले भनिन्, ‘मलाई हिमालै हिमाल र गौतम बुद्धको देशमा पुग्ने धोको छ, एक दिन अवश्य जानेछु ।‘

नेपालीको आत्मियता, न्यानो आतिथ्य र प्राकृतिक सौन्दर्यले आफ्नो मन लोभ्याएको उनको भनाइ थियो । पोल्याण्डकी २३ वर्षीया सुन्दरी क्यारोलिनाले मिस वर्ल्डको उपाधि जितेपछि धेरै सिक्ने मौका पाएको बताइन् । झण्डै ६ महिनायता विश्वका विभिन्न देश घुमेर त्यहांको कला संस्कृति अनि मानिसहरूको रहनसहन बुझ्न पाउनु आफ्ना लागि ठूलो उपलब्धि भएको पनि उनले सुनाइन् ।

सीसी फोरमको ‘दिगो विकासका लागि विश्वव्यापी लगानी’ सम्मेलनका क्रममा नेपालीमूलका व्यवसायीहरूको हवाइ कम्पनी ‘हिमालय जेट’ को निमन्त्रणामा लन्डन आएकी हुन् क्यारोलिना । सम्मेलनको ८ औं संस्करण १७ देखि २० अक्टोबरसम्म लन्डनमा गरिएको हो ।

सो अवसरमा विश्व सुन्दरी क्यारोलिनाले हिमालय जेट, मिस वर्ल्ड र सीसी फोरमले आफूलाई कार्यक्रमको हिस्सा बनाएकोमा कृतज्ञता व्यक्त गर्दै भनिन्, " म यस कार्यक्रमको एक हिस्सा हुन पाउँदा उत्साहित छु । दीपेन्द्र र हिमालय जेटसँग काम गर्न र नेपाल उड्न पाउँदा साथै सँगै धेरै सुन्दर चीजहरू सिर्जना गर्न पाउँदा म धेरै खुसी छु।"

युरोप र एसियामा छिट्टै हवाइ सेवा सञ्चालनको तयारी गरिरहेको हिमालय जेटका निर्देशक दीपेन्द्र गुरुङले मिस वर्ल्ड क्यारोलिनाको उपस्थितिले नेपालको पर्यटन प्रवर्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

हिमालय जेटले मिस वर्ल्ड आयोजकसंग सहकार्य गरेर अगाडि बढ्न छिट्टै सम्झैताको तयारी भएको पनि उनले जनाए । ‘मिस वर्ल्ड फोरममार्फत हामी नेपालमा पर्यटन प्रवर्धन र वैदेशिक लगानीका लागि प्रेरित गर्नु हाम्रो उद्देश्य हो’, गुरुङले भने ।

मिस वर्ल्डकी अध्यक्ष एवम् सीईओ जुलिया एभलिन मोर्ली सीबीआरका छोरा कार्यकारी निर्माता स्टीफन मोर्लीले भने, ‘हाम्रो ७१ औं संस्करणका लागि हामी आयोजक राष्ट्रको रूपमा सिंगापुर, जापान वा पोल्याण्डलाई अन्तिम रूप दिइरहेका छौं र ७२ औं संस्करण हामी हिमालय क्षेत्रमा गर्न गइरहेका छौं । आगामी कार्यक्रम ऐतिहासिक हुनेछन् र मिस वर्ल्डका साथै ब्युटी विथ पर्पस नयाँ उचाइमा जाने विश्वास छ ।’

प्रतिक्रिया

लेखकको बारेमा