चर्को ब्याज विरुद्ध भक्तपुरका उद्यमी व्यवसायीद्धारा ज्ञापनपत्र पेश

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले असुल्दै आएको चर्को ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् ।

भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघ संस्थाहरुको उपस्थितिमा ज्ञापन पत्र पेश गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र पेश गर्दै भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप भने बढन नसकेको उद्योगी व्यवसायीको भनाई छ । निक्षेप बढ्न नसकेपनि ब्याजदर उच्च हुँदा गम्भिर नकारात्मक असर परेको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीले स्थानीय प्रशासन समक्ष ४ बुँदे ध्यानकर्षण पत्र बुझाएका हुन् ।

ब्याजदरको बर्तमान असर र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वान्छित सिमा भित्र राख्नु पर्ने नीति अवलम्बनका लागि पनि उद्योगी व्यवसायीले माग गरेका छन् । यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागु हुनु पर्ने माग गरिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेको तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् । साथै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुंदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनु पर्ने तर्फ पनि व्यवसायीले सुझाव दिएका छन् । मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाँ ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रिय बैकबाट पहल हुनु पर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्