काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्नका लागि गठबन्धन बनेको बताउनुभएको छ । शुक्रवार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयता लगायतको परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको हो । उहाँले आफूहरु लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै गठबन्धन स्वभाविक र प्राकृतिक रहेको बताउनुभयो । उहाँले पवित्र उद्देश्यले गठबन्धन बनाइएको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरुसँग साँठगाँठ गरिरहेको बताउनुभयो । प्रतिपक्षी गठबन्धनलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र मन नपरेको भन्दै उहाँले अधिनायकवादी चिन्तन र एकाधिकारको वकालत गर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘यो गठबन्धन स्वभाविक थियो । प्राकृतिक थियो । किनभने हामी लोकतन्त्रप्रति समर्पित योद्धाहरु हौँ । हामी गणतन्त्रको रक्षा गर्ने मुल शक्ति हौँ । हामी संघीयता मान्ने पार्टी हौँ । अर्को गठबन्धन त्यसलाई संघीयता पचेको छैन । त्यसलाई गणतन्त्रपनि पचिरहेको छैन । त्यसलाई जनतालाई दिईएको अधिकार र लोकतन्त्र पनि पचिरहेको छैन । अधिनायकवादी चिन्तन, प्रवृत्ति, स्वभाव र आचरण बोकेको व्यक्तिले एकाधिकारको वकालत गर्दछ । ऊ सामुहिकतामा जान चाहँदैन । ऊ सबैको मन र विश्वास जित्ने कुरा भन्दापनि पावरको सेन्ट्रलाईजेशनमा विश्वास गर्दछ । त्यसो हुनाले हाम्रो यो गठबन्धन स्वभाविक हो र पवित्र उद्देश्यका लागि बनेको हो ।
प्रतिक्रिया