काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।
चुनावका बेला झन् फेक समाचारको कारखानै खुल्न सक्छ । झुटको खेती गर्दै समाचार बनाइन सक्छन् । सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ, नयाँ अनलाइन माध्यमका लागि शुक्रबार काउन्सिलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने ।
उनले कुनै उम्मेदवार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम कोहीबाट पनि हुन नहुने, त्यसले सिंगो पत्रकारिता जगतको विश्वसनीयतामाथि आँच आउने बताए ।
‘चुनावलाई स्वच्छ र निर्वाद ढंगले सम्पन्न गर्न मिडियाको ठूलो भूमिका हुन्छ । मिडियाले नै चुनाव सफल बनाउन अत्यन्तै प्रभावकारी भूमिका खेल्दै आइरहेको छ’, सञ्चारकर्मीमाझ अध्यक्ष बस्नेतले भने, ‘चुनावका बेला मिथ्या सूचना, भ्रमपूर्ण समाचार र कसैप्रति द्धेशपूर्ण अभिव्यक्तिलाई सञ्चारमाध्यममा कुनै हालतमा स्थान दिनुहुँदैन । त्यसबारे प्रेस काउन्सिलले नियमित अनुगमन गरिरहेको छ ।’
बस्नेतले निर्वाचनमा सञ्चार माध्यमलाई दुरुपयोग हुन बाट जोगाउनुपर्ने र त्यसका लागि संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न सुझाव दिए ।
प्रतिक्रिया