काठमाडौं । फास्टट्रयाक निर्माणका लागि राखिएको फलामका सामानहरु चोरी गरेको आरोपमा प्रहरीले मकवानपुरको बकैया गाउँपालिकाबाट चार जनालाई एउटा बोलेरो गाडी र मोटरसाइकलसहित पक्राउ गरेको छ ।
बकैया गाउँपालिका–१२, जितपुरभञ्ज्याङस्थित फास्टट्रयाक निर्माणस्थलमा राखिएको फलाम चोरी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई ना ५ ख १४४३ नम्बरको बोलेरो र बा ५५ च ८५०२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरुले चोरी गरेको फलाम एक हजार तीन सय केजी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बोलेरो चालक मकवानपुरगढी गाउँपालिका–२ का ३३ वर्षीय इन्द्र बहादुर बिक, मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय नारायण बहादुर मोक्तान र बोलेरोमा सवार बकैया–१२, कोलखोपका २२ वर्षीय अविरल घलान, सोही ठाउँका २४ वर्षीय दिनेश लामा बोम्जन रहेको मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
फलामको सामानहरु चोरी गरेर जाँदैछन् भन्ने सुचनाका आधारमा अस्थायी प्रहरी पोष्ट जितपुरभञ्ज्याङबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ११ बजेर ५५ मिनेटको समयमा नियन्त्रणमा लिएको र अनुसन्धान थालेको प्रहरी प्रवक्ता कार्कीले बताए ।
प्रतिक्रिया