गोरखा । नेपाली कांग्रेसबाट गठबन्धन तर्फ गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाई गोरखा नगरपालिका भित्रका बिभिन्न वडामा भेटघाट गरिरहेका छन् । नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेत आरुघाट, धार्चे गाउँपालिकामा भेटघाटमा ब्यस्त छन् ।
गोरखा १ ‘क’ का उम्मेदवार कृष्ण धिताल शहीदलखन, गण्डकीमा भेटघाट गरिरहेका छन् भने गोरखा १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपाने भिमसेन थापा गाउँपालिकाको आश्राङ बोर्लाङमा भेटघाट गरिरहेका छन् ।
गोरखा २ मा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक प्रशिक्षण र भेटघाटमा मात्रै सहभागी छन् । अन्य उम्मेदवार जस्तो उनी घरभेट र टोलटोलमा मतदाता भेट्ने गरी अहिले पुगेका छैनन् । गोरखा २ ख मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मतदाता भेटघाटमा छन् ।
टोलटोलमा उनी पुगेर प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र प्रदेशमा आफ्नोलागि मत मागिरहेका छन् । दाहालले देशभरका कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले गोरखा निरन्तर समय दिन नसक्ने पहिल्यै बताएका थिए ।
गोरखा २ क मा प्रचण्डका लागि गठबन्धन तर्फबाट उम्मेदवार फडिन्द्र देवकोटाले भोट मागिरहेका छन् । उनी पालुङटार नगर क्षेत्रमा केन्द्रित भेटघाटमा ब्यस्त छन् ।
गोरखा २ मा एमाले उम्मेदवार अब्दुस मियाँ सिरानचोकमा भेटघाट गरिरहेका छन् । अस्पताल, विद्यालयहरुको अवस्था बुझ्ने काम गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । गोरखा २ क का एमाले उम्मेदवार राजु राना पालुङटार नगरपालिका केन्द्रित प्रचारमा छन् भने ख का उम्मेदवार बसन्त गुरुङ अजिरकोट र बारपाक सुलिकोटतिर छन् ।
गोरखा २ बाट राष्टिूय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका कबिन्द्र बुर्लाकोटी गोरखा र पालुङटार नगरपालिका क्षेत्रमा ब्यस्त देखिन्छन् । अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि सामाजिक सञ्जालमा पोस्ट राख्ने मत माग्ने, भेटघाट गर्ने गरिरहेका देखिन्छन् । ग्रामिण भेगमा चुनावी चहलपहल सुरु भईसकेको छ ।
प्रतिक्रिया