काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पतिष्पर्धा एमालेसँग हुने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित काठमाडौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरु १ सय भन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिष्पर्धी भएको जिकिर गरे । अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा पनि पटकपटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरुलाई भोट हाल्ने हो भने नागरिकहरुले नै दुःख पाउने बताए ।
उनले काँग्रेस र माओवादी लगायतका दलहरुका मतदाताहरु अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिष्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए । उनले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गरे । अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने पनि दाबी गरेका छन् ।
अध्यक्ष लिङदेनले देशको विकास होस् भन्ने चाहना राख्ने हरेक नेपालीहरुले यसपटक हलोमा भोट हालेर राप्रपालाई जिताउन आवश्यक भएको बताए । उनले एमालेले राप्रपालाई भोट दिँदा टाउको दुखाउनुपर्ने स्थिति नरहेको भन्दै हीनताबोध लिएर राजनीति अघि बढ्न नसक्ने बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार कुन्तीदेवी पोखरेलले आगामी निर्वाचन राष्ट्रवादीको जित वा हार भन्नेमा नै केन्द्रित हुने बताए ।
उनले नेपाली काँग्रेसका मतदाताहरुले किसुन जी, गणेशमान सिंह र बिपी कोईरालाको सिद्धान्तलाई पछ्याउने वा प्रचण्डपथमा लाग्ने भन्ने तय गर्ने निर्वाचन भएको पनि बताए । उनले आगामी निर्वाचनमा राष्ट्रवादी पार्टी राप्रपालाई जिताउनुको कुनै विकल्प नभएको बताए । उम्मेदवार पोखरेलले काठमाडौं क्षेत्र नम्बर २ विकास निर्माणमा कर्णाली भन्दा कमजोर रहेको जिकिर गरे ।
प्रतिक्रिया