
धनतेरसको दिन एक हजार केजी चाँदीको कारोबार
काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन ‘धनतेरस’मा विभिन्न धातुका नयाँ सामान जोडेर मनाइएको छ । यस दिन धनधान्यकी देवी लक्ष्मी पूजाको लागि उनलाई मन पर्ने वस्तुहरू किन्ने गरिन्छ । विशेषगरी धनतेरसका दिन लक्ष्मीमातालाई खुशी गराउन सुनचाँदीका गरगहनादेखि धातुमा नयाँ भाँडाकुँडा किन्ने परम्परा छ ।
हिजो शनिवार एक हजार केजीभन्दा बढीको सुनचाँदीको कारोबार भएको सुनचाँदी व्यवसायीहरूले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले शनिवार एकै दिन एक हजार केजीभन्दा बढीको सुनचाँदीको कारोबार भएको बताए । उनले आर्थिक न्युजसंग भने, ‘शनिवार सुनचाँदीको कारोबार राम्रो भएको छ । धनतेरसको दिनका लागि भनेर सुनचाँदीका भाडावर्तनदेखि गरगहना किन्ने ग्राहकको हिजो बिहानैदेखि भिड थियो । हिजो एकै दिन एक हजार केजी चाँदी र ४५ केजी सुनको कारोबार भएको छ ।’
धनतेरसको दिन बजारमा नयाँ भाँडाकुँडा किन्नेको भिड लाग्नुका साथै सुनचाँदी पसलमा पनि सुन तथा चाँदीका भाडावर्तनदेखि गरगहना किन्नेको भिड लाग्ने गर्दछ । यसले गर्दा सुनचाँदी बजारमा चहलपहल बढेको छ । सुनचाँदी पसलमा देखिएको यस्तो चहलपहल लक्ष्मीपुजाको दिनसम्म कायम रहने अध्यक्ष शाक्यको भनाई छ ।
दीपावलीको किनमेलको लागि धनतेरसका दिन निक्कै उत्तम मानिन्छ । यस दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास रही आएको छ ।
